१५ माघ , काठमाडौ । सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’मा गरेको फैसलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसय व्यक्त गरेको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक छलफल भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता ढकालले भने– ‘सर्वोच्चको फैसलाप्रति हाम्रो विमति छैन । तर, हाम्रो सभापतिको मुद्दामा मात्र कि यति चाँडो फैसला भयो भन्ने विषयमा छलफल भयो । हामी चाहन्छौ– आम नागरिकको मुद्दामा पनि यसरी नै चाँडो फैसला होस भन्ने चाहन्छौँ ।’
रास्वपाले सभापति लामिछानेकै जस्तो नागरिकतासम्बन्धी मुद्दामा फैसला हुन नसकेको वा ढिलो भएको विषयमा समेत प्रश्न गरेको छ । प्रवक्ता ढकालले भने– ‘हाम्रो सभापतिको मुद्दामा फास्ट ट्र्याकमा फैसला भए जसरी नै अन्य नेता वा व्यक्तिको मुद्दामा किन फैसला हुन सकेन भन्ने प्रश्न हो ।’
प्रवक्ता ढकालका अनुसारमा लामिछानेले सुरुमा साधारण सदस्यका लागि आवेदन दिएका थिए । त्यसपछि बसेको बैठकले केन्द्रीय सदस्य मनोनित गरेको थियो । त्यसपछि रवि सहित बसेको बैठकले उनलाई सभापति चयन गरेको हो ।



