मदिरा सेवन गरी गाडी चलाएर ड्युटीमा खटिएका प्रहरी हवल्दारको हात भाँचिदिएका चालक सौरभ थापा २८ सय रुपैयाँ धरौटीमा छुटेका छन्।
गत बिहीबार राती ३ बजेतिर पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि थापाले चलाएको गाडीले ठक्कर दिँदा ड्युटीमा रहेका प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको थियो।

त्यसपछि पक्राउ परेका चालक थापालाई प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।
अभद्र मुद्दामा प्रशासनमा पेश भएका थापालाई प्रशासनले धरौटीमा छाड्न आदेश दिएको हो। प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान गर्न ५ दिन समय पाएको थियो। अनुसन्धान सकेर प्रशासनमा बुझाएको कास्की प्रहरीका इन्स्पेक्टर सुवास तिमल्सिनाले बताए।
प्रशासनमा बुझाएकै दिन आज २ हजार ८०० रुपैया धरौटीमा छाड्न आदेश भएको उनले बताए।
अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकाले धरौटीमा छाड्ने आदेश भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

धरौटी रकम भने ४ हजार भन्दा बढी हुनुपर्ने उनको भनाइ छ।
‘अहिले अफिस बन्द भइसक्यो, धरौटी कम्तिमा ४ हजार हुनुपर्छ,’ उनले सेतोपाटीलाई भने, ‘तारेखमा उहाँ छुट्नुभएको हो।’
ड्युटीमा रहेका प्रहरीलाई मदिरा सेवन गरेर गाडीले ठक्कर दिने विषय कुन मुद्दा अन्तर्गत अनुसन्धान गर्ने प्रहरी र वकिलमा भर पर्ने सिडिओ केसीको भनाई छ।
‘मुद्दा चलाउने विषय प्रहरी र वकिलको कुरा हो,’ ‘उनले भने, ‘गम्भीर खालको भए अदालतमा जान्छ, सानो विषय भए सिडिओकोमा आउँछ, किन आयो भन्ने कुरा भएन।’
कास्की प्रहरी प्रमुख एसपी अजय केसीले ड्युटीमा खटिएका प्रहरीमाथि भएको आक्रमण अभद्र व्यवहार सम्बन्धी कानुन मात्र आकर्षित हुने दाबी गरे।
उनका अनुसार चालक थापाले मदिरा सेवन गरेर ओभरस्पिडमा गाडी घुमाउँदै ड्युटीमा खटिएका प्रहरीलाई जिस्क्याएका थिए।
‘त्यो दिन राती चालकले गाडी ओभर स्पिडमा घुमाउँदै ड्युटीमा खटिएका प्रहरीले जिस्क्याएका थिए,’ एसपी केसीले सेतोपाटीलाई भने, ‘ड्युटीमा खटिएका प्रहरी रोक्न जाँदा गाडीको ढोकामा हात ठोक्काएर भाँचिएछ।’
चालक थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाका छोरा हुन्।
पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्यसमेत रहेका थापा पोखरामा अटो व्यवसाय संचालन गर्छन्।
२५ वर्षे थापाले पोखरामा यसअघि पनि गाडी स्टन्ट गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।
ड्युटीमा खटिएका प्रहरीलाई जिस्काएर ठक्कर दिएपछि थापालाई पक्राउ गर्न आफुले निर्देशन दिएको एसपी केसीले दाबी गरे।
चालक थापा गण्डकी प्रदेश सभाका सांसद एवं पूर्व कानुनमन्त्री विन्दुकुमार थापाका भतिज हुन्। उक्त विषयमा घाइते भएका हवल्दार वलीसँग आफुले कुरा गरेको भन्दै एसपी केसीले चालक पक्षले माफी मागेको र उपचार खर्च व्यहोर्छु भनेको बताए।


