चितवन , नेपाल प्रहरी शिक्षालय भरतपुरमा २०७९ असोज ११ गतेदेखि सञ्चालित प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-३ समूहको फाल्गुण ०५ गते प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षकले उत्कृष्ट प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू लगायत उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरण गर्नुभई दीक्षान्त निर्देशनको क्रममा नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत बिभिन्न उप-समूहमा नियुक्ति लिए पश्चात प्रशिक्षणमा सहभागी भई आज दीक्षान्त कवाज प्रस्तुत गर्नुहुने सम्पूर्ण प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरुलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना दिनुभएको थियो।

आफ्ना सन्ततिलाई अवसर सँगसँगै चुनौती र जोखिमले भरिएको प्रहरी सेवामा आवद्ध हुन प्रेरित गर्नुहुने अभिभावकज्युहरुलाई हार्दिक आभार व्यक्त गर्नुभई प्रहरीको सबैभन्दा महत्वपूर्ण गहना आचरण, ईमान्दारिता, करुणा र निष्ठा भएको र यी बिना अन्य क्षमता, सीप, कौशलता सबै फिक्का रहने हुँदा दीक्षान्त कवाज प्रदर्शन गर्ने क्रममा लिइको शपथ आफ्नो पेशा प्रतिको निष्ठा, ईमान्दारिता र जिम्मेवारी प्रतिको जवाफदेहिताको प्रतिवद्धता भएको र यसलाई जीवन पर्यन्त अक्षुण्ण राख्न समेत निर्देशन दिनु भएको थियो । साथै तालिमको दौरान प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभरका विभिन्न स्थानमा खटिई सफलतापूर्वक आफूलाई सुम्पिएको जिम्मेवारी सम्पन्न गरी देखाउनुभएको व्यावसायिक चरित्रको स्मरण गर्नुभई समग्र प्रशिक्षण व्यवस्थापन गर्न प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउनुहुने महानुभावहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी नायव उपरीक्षक गौतम थापाले प्रस्तुत गर्नु भएको थियो । दीक्षित भई जाने प्रशिक्षार्थी प्राविधिक जवानहरूलाई उप-निर्देशक प्रहरी उपरीक्षक अर्जुन रानाभाट बाट शब्दोच्चारणद्वारा सपथ ग्रहण गराउनु भएको थियो भने उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश रानाभाटले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महिला ७२ र पुरुष ३३५ जना गरी कुल ४०७ जना प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू दीक्षित आधारभूत तालिम २-३ समूहमा सर्वप्रथम प्राविधिक प्रहरी जवान सुजन वि.क., सर्वद्वितीय प्राविधिक प्रहरी जवान प्रविन थनेत, सर्वतृतीय प्राविधिक प्रहरी जवान चेत नारायण थनेत, अध्ययन प्रथम प्राविधिक प्रहरी जवान सन्तोष कुमार यादव, कवाज प्रथम प्राविधिक प्रहरी जवान कुबेर ओली, प्रहरी युक्ति तथा कारबाही प्रथम प्राविधिक प्रहरी जवान डम्बर बहादुर ओली, शारीरिक व्यायाम प्रथम प्राविधिक प्रहरी जवान दिलिप ओली तथा चाँदमारी प्रथम प्राविधिक प्रहरी जवान दुर्गा बहादुर गाहा भएका छन् ।




