१८ फागुन , काठमाडौं । तारकेश्वर नगरपालिकाले यही फागुन २५ गते विश्व मृगौला दिवसको अवसरमा नि:शुल्क डायलासिस सेवा सुचारु गर्ने भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं १ को प्राथमिक स्वास्थ्य केन्द्र साङलाबाट डायलसीस सेवा सुरु गर्न लागेको हो । मिर्गौला फेल भएकाको डायालासिस नि:शुल्क गर्ने नगरको निर्णयप्रति मिर्गौला पीडितले खुशी व्यक्त गरेका छन् । उनीहरुले तारकेश्वर नगरका प्रमुख कृष्ण हरि महर्जनलाई विशेष धन्यवाद समेत दिएका छन् ।
नगरपालिकाले १ करोड २५ लाख रुपैयाँको लगानीमा ६ वटा डायलासिस मेसिन खरिद गरेको छ भने खरिद गरिएका मेसिनहरुको प्राविधिक पक्षहरु जांच गरि मेसिनहरु धमाधम फिट गर्ने काम भइरहेको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख विनोद कुमार शाहले जानकारी दिएका छन्।

शाहका अनुसार नगरपालिकाले फागुन २५ गते देखि सुरुवाती चरणमा उपलव्ध श्रोत र साधनबाट डायलासिस सेवा सञ्चालन गर्ने र पछि बिरामीको चाप अनुसार थप डायलासिस मेसिनहरु राखिने नगरपालिकाले जनाएको छ।
यही फागुन २५ गते नगरपालिकाले “किडनी बचाउ अभियान’ सञ्चालन गरिरहेका बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठबाट डायलासिस सेवा सुचारु गरिने भएको छ।
कलाकार श्रेष्ठले आफ्नो जन्म भुमि तारकेश्वर रहेको बताँउदै केही दिन अगाडी मात्र साङला अस्पतालको निरिक्षण गरेका थिए।
उनले यस्तो पुण्य कर्म गर्न लागेकोमा नगरप्रमुख महर्जन र सिंङ्गो नगरपालिकालाई धन्यवाद दिएका छन्। साङला अस्पतालमा श्रेष्ठलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे सहित कर्मचारी र जनप्रतिनिधिहरुले अस्पतालमा स्वागत गरेका थिए।
नगरप्रमुख महर्जनले भने, ‘‘उपचारको विधि हुँदाहुँदै कसैले पनि रकम अभावमा मर्नु नपरोस् भन्ने उद्देश्यले मिर्गौला पीडितलाई राहत दिन खोजिएको हो ।’’ मृगौला पीडितहरुलाई जतिसक्दो भरपर्दो सेवा दिने गरी ब्यवस्थापन मिलाइएको उनले बताए। तारकेश्वर बाट डायलोसिस सेवा लिनको लागि धेरै पैसा खर्चेर बाहिर जानुपर्ने बिरामीले राहातको महसुस गरेका छन् ।
मेयर महर्जनले आफ्नो तलब भत्ता अशक्त, अपांग, विपन्न बालबालिकालाई शिक्षा , स्वास्थ्य जस्ता सेवाहरुमा प्रदान गर्न खर्च गरिरहेका छन्। गरिबीका कारण चुल्हो बाल्न नसक्नेलाइ खाद्यन्नको व्यवस्था गरेका छन् भने स्वास्थ्य उपचार नपाएका व्यक्तिहरुलाई पनि लगातार सहयोग गर्दै आएका छन् ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, कृषि, विधुत, सडक यातायात, सुचना तथा सञ्चार पर्यटन, पेशा व्यवसाय र रोजगारलाई प्राथमिकता राखेर नगरप्रमुख महर्जनले काम गर्दै आएका छन्। नेता हुँदा बाँड्ने आश्वासन जनप्रतिनिधि बनेपछि धेरैले बिर्सने गर्छन्।
तर तारकेश्वरका नगरप्रमुख महर्जनले भने सधै जनताको सुख दुखमा संगै हुने गरेका छन। निर्वाचनका बेला जनतासँग गरेका बाचालाई महर्जनले आत्मसाथ गरेर काम गरेको स्थानीयहरुले बताएका छन।







