काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ्ग तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ ।

जेब्राक्रसिङ्ग तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्डनै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका बिभिन्न चोक-चोकमा बसेर अभियानको सुरुवात गरेको हो । दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ्ग बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई-बुझाई गरेको छ । सम्झाई-बुझाईका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार गर्न लगाईएको थियो ।

यस्तै ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङ्गमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साईकलका चालकहरूलाई पनि सम्झाई-बुझाई गरेको छ । काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।
” काठमाडौँ उपत्यकामा गत आर्थिक बर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आ.व.को हाल सम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीहरुमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरि दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।

यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङ्गबाट मात्रै सडक वारपार गर्नुहुन र ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गर्नु भएको छ ।






