प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ ।
एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अनुसन्धान गरेको गृह मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्थाअनुसार प्रहरी सेवामा भर्ना हुन योग्य रहेको देखिएको छ ।

नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक जन्ममिति रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै ज्ञवालीविरुद्ध उजुरी परेको थियो ।
उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन गरेको गृह मन्त्रालयले प्रहरी नियमावलीको तत्कालीन व्यवस्थाअनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ ।
‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन । उनका सम्बन्धमा खासै समस्या हुने खालको अवस्था देखिएन ।डीआईजीबाट एआईजीमा बढुवा भएका पाँचजना भावी आईजीपीका लागि प्रतिस्पर्धी छन् । पाँचै एआईजीले बुधवार प्रहरी महानिरीक्षकको हातबाट फुली लगाएका छन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह तथा एआईजीहरूले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता समेत गरेका थिए ।
के हो ज्ञवालीको विवाद ?
एआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक–फरक छ ।
शैक्षिक प्रमाणपत्रमा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गते छ भने नागरिकतामा २०२४ चैत २१ गते देखिएको छ ।
डीआईजी ज्ञवाली २०५० साल पुस ९ गते खुलेको विज्ञापनमा आवेदन दिएर प्रहरी सेवामा भर्ना भएका थिए ।
२५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
प्रहरी नियमावली २०७१ मा प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्ममा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको भन्ने उल्लेख गरेको छ । अहिलेको नियमावलीलाई आधार मानेर हेर्दा उनी अयोग्य ठहरिन्छन् ।
तर, ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा कायम रहेको नियमावलीअनुसार उनको भर्नामा कुनै त्रुटि नदेखिएको गृहका एक अधिकारीले दाबी गरे ।
प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ।
प्रहरी नियमावली २०४९ को दफा १३ (क)मा ‘छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने लेखिएको छ ।
२०७१ सालको संशोधनमा ‘दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक’ भनेर बनाइएको छ ।
भर्ना हुने सालको वैशाख १ लाई हेर्दा उनी २४ वर्ष ५ महिना मात्र पुगेको देखिन्छ ।
‘अख्तियारले पनि पत्राचार गरेपछि प्रारम्भिक अनुसन्धान गर्दा कुनै समस्या देखिएन । तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्था हेर्दा उनी प्रहरी सेवामा प्रवेश गर्न योग्य रहेको देखियो,’ ती अधिकारीले भने, ‘अन्य एआईजीसरह उनी पनि प्रहरी आईजीपीका लागि योग्य रहेको देखिएको छ ।’


