Comments Add Comment

Advertisment

SKIP THIS

पार्किङमा राखेको गाडी कैँचीको सहयोगमा लक खोलेर चोरी !

५ वैशाख , काठमाडौ । पार्किङमा राखेको गाडी चोरी हुन्छ भन्दा सहजै पत्याउन सकिँदैन ।

तर, चोभार स्थित सुख्खा बन्दरगाह अगाडी पार्किङ गरे राखेको गाडी चोरी भएको छ । चैत ३० मा राजेन्द्र खड्काले कीर्तिपुर नगरपालिका–६ चोभार स्थित सुख्खा बन्दरगाह अगाडी ना.५ च ९६५७ नम्बरको टाटा डिआई गाडी पार्किङ गरेका थिए । पार्किङ गरेकै ठाउँबाट राति १० बजेतिर गाडी गायब भयो । राजेन्द्रले प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामालाई घटनाको जानकारी गराए ।

चैत ३० मा राति ११ बजेतिर प्रहरीलाई अर्को खबर आयो–‘चारघरेमा सुवर्ण महर्जनले संचालन गरेको चक्र तीर्थ मल्टिपर्पोज प्रालिको गोदाममा राखिएको सवारीका पार्टपुर्जा चोरी भएको छ ।’ कीर्तिपुर नगरपालिका–६ स्थित पानी सप्लाई गर्ने सो कम्पनीबाट पानी तान्ने मोटर, ब्याट्री र पानी भर्ने कालो वाटर ट्याङ्क गरेर करिब २ लाखको सामान चोरी भएको थियो ।

पानी सप्लाई कम्पनीबाट मोटर लगायतका सामान चोरेपछि आरोपीहरूले सो सामान ढुवानी गर्न गाडी चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चोरीमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मकवानपुरको इन्द्र सरोवर गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २८ वर्षीय अशोक लामा र थाहा नगरपालिका घर भएर कीर्तिपुर नगरपालिका स्थित चोभार बस्ने २३ वर्षीय किरण स्याङतान छन् । चोरीमा संलग्न एक जना फरार छन् ।

कैँचीको सहयोगमा चोरी

पार्किङमा राखेको टाटा डिआई गाडी चोर्न आरोपीहरूले कैँचीको सहयोग लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘गाडीको सिसा फुटाएपछि उनीहरूले कैँचीको सहयोग लिएर स्टार्ट गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘कैँचीको सहयोगमा गाडी स्टार्ट गरेर उनीहरूले पानी कम्पनीमा लगेर सामान लोड गरेर भागेको देखिन्छ ।’

अनुसन्धानबाट वैशाख २ मा बिहान १ बजे चोभार डाँडा स्थित चउरमा चोरीको गाडी भेटिएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले रातोपाटीलाई बताए । गाडीसँगै आरोपीहरू पनि भेटिएका हुन् ।

आरोपीहरू विरुद्ध प्रहरी वृत्त कीर्तिपुरले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीहरू चालक र सहचालक पेसामा संलग्न थिए । आरोपी मध्येका अशोक यसअघि पानी सप्लाई कम्पनी चक्र तीर्थ मल्टिपर्पोज प्रालिमा चालकको काम गर्थे । किरण स्याङतान सवारीको पार्टपुर्जा चोरी भएको कम्पनीमा सह–चालक थिए । उनीहरूले यसअघि नै त्यहाँ काम छाडेको चक्र तीर्थ मल्टिपर्पोज प्रालिले जनाएको छ ।

चोरी भएको सामान र गाडीको मूल्य करिब ६ लाख ९९ हजार रहेको मूल्याङ्कन गरिएको छ । प्रहरीले सिसिटिभी फुटेको सहायताले अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment