१८ वैशाख , काठमाडौ । निरन्तर वर्षाका कारण एसिसी मेन्स प्रिमियर कपको अन्तिम खेल स्थगित भएको छ । उपाधिका लागि भिडिरहेका नेपाल र यूएईबीचको सोमबारको फाइनल खेल वर्षाका कारण स्थगित भएसँगै पुनः भोलि (मंगलबार) आजकै स्थितिबाट खेल सुरु हुनेछ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको युएईले २७३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ । २७.३ ओभरदेखि पानी परेपछि खेल रोकिएको थियो।
भोलि आजकै स्थितिबाट खेल सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए ।
आजकै जसरी निरन्तर वर्षा भए भोलिको खेलको ओभर घटाइनेछ। यदि ओभर घटाउँदा असम्भव भए सुपर ओभरमा खेल हुने र सुपर ओभर पनि नभएमा वरियताको आधारमा च्याम्पियनको टुंगो लगाइनेछ ।
यदि, वरियताको आधारमा खेलको विजेता घोषणा गर्नुपर्ने अवस्था आएमा स्वतः नेपाल प्रतियोगिता जित्नेछ । विजयी भएसँगै नेपालले एसिया कपमा छनोट हुने अवसर पाउनेछ।
नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग समूहमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ। यद्यपि, त्यो अवसर नेपालका लागि कति फलदायी छ त्यो भोलि हुने खेलले तय गर्नेछ ।
सोमबारको खेलमा युएईका आसिफ खानले सबैभन्दा बढी ४६ रन जोड्न सफल। नेपालका लागि ललितले सर्वाधिक ३ विकेट लिन सफल भए । सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।





