१८ वैशाख , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ विभागहरु गठन गरेको छ ।
गठन भएको ३६ विभागमा पार्टी प्रवक्ता मुकुल ढकाल, मनिष झा, सुमना श्रेष्ठ, अशोक चौधरी र डा. तोषिमा कार्कीसहित पाँच जनाले ‘डबल’ जिम्मेवारी पाएका छन् ।
डा. ढकाल नीति तथा विभाग विभागको प्रमुख र प्रशिक्षण विभागको प्रमुख बनेका छन् । यस्तै, डा. कार्कीले स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभागको जिम्मेवारी पाएकी छन् भने झाले तथ्यांक अनुसन्धान विभाग र सार्वजनिक लेखा समीक्षा विभागको जिम्मेवारी पाएका छन् ।
श्रेष्ठले विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग र शिक्षा विभागको जिम्मेवारी पाउँदा चौधरीले सहकारी विभाग र कृषि विभागको जिम्मेवारी पाएका छन् ।
यस्तै, अर्थ नीति विभागमा तनहुँ २ को उपनिर्वाचनबाट नवनिर्वाचित सांसद स्वर्णिम वाग्ले चयन भएका छन् भने संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।
मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, केन्द्रीय आर.ए.टी. संयोजन विभागमा विष्णुकुमार श्रेष्ठ, उत्पादन प्रवर्द्धन विभाग रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संशोधन विभाग खुस्बुसरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग लिमा अधिकारी, गुनासो व्यवस्थापन विभाग डा. चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाडे चयन भएका छन् ।
यसैगरी विद्येयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम, पर्यटन तथा संस्कृत विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा विराजभक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभाग शिव नेपाली, पूर्वाधार विकास अनुगमन विभागमा निशा डाँगी, मावअधिकार विभागमा सन्तोष परियार, वन, वातावरण तथा प्राकृतिक स्रोत विभागमा विनिता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी चयन भएका छन् ।




