३ जेठ , काठमाडौ । सधै जसो विवादमा परिरहने काठमाडौंको बसुन्धरामा रहेको ग्रिन सिटी अस्पतालले यसपटक म्याद गुज्रेको औषधि बिरामीलाई दिएको छ ।
जो बिरामीमाथि अस्पतालले म्याद गुज्रेको औषधि चलायो, तिनको ज्यानै गयो ।
अब यो प्रष्ट छैन कि बिरामीको मृत्यु डेट एक्स्पाएर औषधिका कारण भएको हो वा अरु नै कुनै कारणले । तर मृतकका आफन्त भन्छन् – एड्रेनालिन नामक सिरिन्ज सात पटक घोचियो । त्यसपछि मात्रै औषधिको म्याद गुज्रेको थाहा भयो । मृतक ६२ वर्षका थिए । गम्भीर अवस्थामा उनको उपचार भइरहेको थियो । गुणस्तरीय उपचार भन्दा पनि समाजसेवाको भ्रामक प्रचार गरेर चिकित्सा व्यापार गरिरहेको भन्ने आरोप पनि यस अस्पताललाई लाग्ने गरेको छ ।
यसपटकको मामिला छ – म्याद गुज्रेको औषधि र बिरामीको मृत्यु । पूरा मामिला के हो त रु काठमाडौँको धापासी ८ बसुन्धारामा सञ्चालीत ग्रिन सिटी अस्पतालले विरामीलाई म्याद गुज्रिएको औषधी चलाएको तथ्य फेला परेको छ ।
एड्रेनालिन नामक म्याद गुज्रिएको इन्जेक्सन् विरामलाई लगाइको भेटिएपछि अस्पताल सोमबार तनावग्रस्त बन्यो ।
फोक्सोमा पानी जमेका कारण गोरखाका ६२ बर्षीय लोकनाथ भट्टलाई गत आइतबार उपचारका लागि ग्रिन सिटी अस्पताल अस्पताल पु¥याइएको थियो । रक्तचाप कम भएपछि सन्तुलनमा ल्याउन भट्टलाई एड्रेनालिन नामक औषधीको ७ वटा इन्जेक्सन् दिइएको थियो । तर ति ७ वटै एड्रेनालिन औषधीको म्याद गुज्रिसकेको थियो ।
म्याद गुज्रिएका औषधी राखेर ७ वटा इन्जेक्सन् विरामीलाई घोच्दासम्म न चिकित्कसले ध्यान दिए न त विरामीका आफन्तले चाल पाए ।
२०२२ मे मा उत्पादित मिति उल्लेख भएको यो औषधीको म्याद सकिने मिति २०२३ अप्रिलसम्म छ । अर्थात भट्टलाई प्रयोग गरिएको यो औषधीको म्याद सकिएको डेढ महिना वितिसकेको पाइएको छ । म्याद गुज्रिएकै औषधीका कारण विरामी मृत्यु भएको आफन्त दाबी
ग्रीन सिटी पु¥याउनु अघि विरामीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । तर त्यहाँ आइसियु बेड नपाएपछि आफन्तले विरामीलाई ग्रीन सिटी लगेका थिए । यद्यपि त्रिविका चिकित्सले विरामीको अवस्था गम्भिर नै रहेको जानकारी गराएको थिए ।
ग्रीन सिटीमा पनि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । तर गम्भिर अवस्थाका भट्टको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भयो ।
मृतकका आफन्तले अस्पतालको फार्मेसीले दिएको म्याद सकिएको औषधिकै कारण मृत्यु भएको भन्दै साँझ पाँच बजेतिर फार्मेसी तोडफोड नै गरे । विरामीको मृत्यु भएको जानकारी अस्पतालले दिएपछि बाँकी रहेको एड्रेनालिन नामक औषधी फिर्ता गर्न आफन्तहरु फार्मेसीमा पुगेका थिए । तर, फार्मेसीले म्याद सकिएको भन्दै औषधी फिर्ता लिन मानेन ।
जब कि उक्त औषधी ग्रीन सिटीकै फार्मेसीले नै बिक्री गरेको थियो ।
फार्मेसी औषधी फिर्ता लिन नमानेपछि म्याद सकिएको औषधी विरामीलाई प्रयोग गरिएको तथ्य बाहिरिएको थियो । उपचारका क्रममा भट्ट परिवारको साढे दुई लाख रुपैयाँ खर्च भइसकेको थियो । पटक पटक विवादमा परिरहने यस ग्रिनि सिटी अस्पताल यसपटक म्याद गुज्रिएको औषधीका कारण विवादमा परेको छ ।
विरामीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै मृतकका आफन्त अस्पतालप्रति आक्रोशित भएका थिए । म्याद गुज्रेकै औषधिका कारण भट्टको ज्यान गएको हो वा होइन एकिन भइसकेको चाहिँ छैन । तर विरामीलाई प्रयोग गरिएको औषधी भने म्याद सकिएको भेटिएको छ ।
औषधी बिक्री गर्ने फारमेसिस्ट यो घटनापछि फरार भए । तर फार्मेशीका संचालकलाई भने आफन्तले घेराबन्दीमा राखेका थिए ।
प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ । तोडफोडपछि अस्पतालको फार्मेसी बन्द गरिएको छ । यता म्याद सकिएको औषधीका विषयमा औषधि व्यवस्था विभागले पनि अनुगमन गरिरहेको छ ।






