काठमाण्डौ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
उपत्यका ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई ट्राफिक प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले हस्तान्तरण गर्नुभएको हो । विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निबेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको डिआईजी पोखरेल बताउनुभयो ।

उहाँले भन्नुभयो: “हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं ।
अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं ।”

थप प्रष्ट पार्दै डिआईजी पोखरेलले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।
चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एवं कारबाहीको लागी बिभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले भएमा आफू सजग भई तुरुन्तै खबर गर्न सूचित गरेको छ ।


