ललितपुर: नेपाल मेडिसिटी अस्पतालका कर्मचारीले उसैलाई ठगे साढे दुई करोड रुपैयाँ !
प्रहरीले नेपाल मेडिसिटी अस्पतालको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अस्पतालका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले बताए ।
एसएसपी सिद्धिबिक्रम शाहका अनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए ।

प्रहरी अनुसन्धानमा उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी गरेका हुन् ।
नेपाल मेडिसिटी अस्पतालले घटनाको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको थियो ।
प्रहरी अनुसन्धानमा दोलखा घर भएर भक्तपुर ठिमी वस्ने अस्पतालमा कार्यकारी आईपी विलिङको रुपमा कार्यरत राघव सापकोटा, ललितपुर चापागाउँका सनम देशार र काठमाण्डौं वालुवाटारका आशिष अर्यालले ठगी गरेको खुलेको हो ।
प्रहरीले उनीहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएर बिस्तृत अनुसन्धान गरिरहेको छ ।


