बुटवल,रूपन्देहीबाट अर्कैको नाममा लोक सेवा आयोगको परीक्षा दिएर सरकारी जागिर खाएको खुलेको छ ।
स्वच्छ र पारदर्शी परीक्षा हुने संस्थाका रूपमा परिचित लोक सेवालाई नै झुक्याएर सरकारी जागिर खाएको पत्ता लागेको हो ।
अर्कै साथीलाई परीक्षा दिन लगाएर जागिर खाएका १ कर्मचारी र अर्कैको नामबाट लोक सेवा आयोगको लिखित परीक्षा दिने १ जना गरी २ जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ ।
लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिलाउने दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । विज्ञापनअनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोस्रो र तेस्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिइएको थियो ।
३ वटै लिखित पत्रको परीक्षामा परीक्षार्थी सप्तरीको राजविराज–११ का ३३ वर्षीया मनोजकुमार सुतिहारको नामबाट सोही स्थानका ३० वर्षीया नारायण यादवले लोक सेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए । लोक सेवा आयोगले सबै प्रमाण जुटाएर प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको हो । सोही अुनसार प्रहरीले परीक्षा दिने सुतिहार र परीक्षा दिलाउने यादव दुवै जनालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत रहेका छन् ।
डीएसपी अर्यालले उनीहरूको सम्पूर्ण फाइल लोक सेवाले आफूहरूलाई उपलब्ध गराएपछि अनुसन्धान अघि बढाइएको लोकान्तरलाई जानकारी दिए ।
प्रहरीले दुवै जनालाई पक्राउ गरी लिखत सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको जनाएको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विकले उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको लोकान्तरलाई बताए । उनीहरूलाई लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत रुपन्देही ७ दिने म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।



