काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जेष्ठ २९ गतेदेखि ३१ गतेसम्म पोखरा स्थित कुटी रिसोर्टमा सञ्चालन भएको आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रम आज नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरुका प्रधानाचार्य / प्राचार्य /समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।
सो समापन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक मधुसूदन लुईटेलबाट स्वागत मन्तव्य तथा कार्यक्रमको समिक्षा सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख, शिक्षालयका निर्दैशक साथै प्रशिक्षण प्रदायक संस्थाका कार्यालय प्रमुखहरूले आ-आफ्नो तर्फबाट राय सुझाव व्यक्त गर्नु भएको थियो । छलफलका क्रममा उठान भएका विषयबस्तुहरू उपर निर्देशन सहितको सम्बोधन प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरज्यूले गर्नु भएको थियो ।

सम्बोधनका क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षणलाई उपलब्धिमूलक बनाउन प्रशिक्षकहरूमा प्रशिक्षणको अर्जुन दृष्टि र दृढ इच्छाशक्ति भएमा मात्र प्रशिक्षण प्रभावकारी हुने भएकाले प्रशीक्षण कार्यमा हामी सबै संबेदनशील रहनु पर्ने बताउनु भयो । प्रशिक्षण अवधिमा अवलम्बन गरिदै आएको व्यवहारिक पक्ष र मनोवृत्तिलाई सुधार गरी प्रशिक्षणको पद्धति र महत्वलाई गहनरूपमा बुझ्न सकियो भने मात्र प्रशिक्षण रचनात्मक र उपलब्धीमूलक हुन सक्ने कुरालाई मनन गर्न निर्देशन दिनु भयो ।
प्रशिक्षणमा व्यक्तिगत महत्वकांक्षा भन्दा संगठनको आवश्यकतालाई मनन गरी प्रहरीको सबै भन्दा महत्त्वपुर्ण गहना आचरण, ईमान्दारिता, संयमता, सेवाभाव, करुणा र निष्ठा हुन यी विना अन्य क्षमता, सिप, कौशलता सबै अर्थहिन हुने भएकोले प्रशिक्षार्थीहरुमा यी गुणहरु प्रसार गर्न तालिम कार्यक्रम र प्रशिक्षण कार्यालयहरु केन्द्रित हुनु पर्दछ भन्ने समेत निर्दैशन दिनु भयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभागका प्रमुख एआईजी सन्दिप भण्डारीले प्रशिक्षणमा एकरूपता कायम गर्न नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ को अध्ययन गरी कार्यान्वयन गर्न र प्रशिक्षणलाई प्रभावकारी ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रअमनि टेक प्रसाद राईले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यबाद सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।



