काठमाडौं : जिल्ला प्रहरी कार्यालय ललितपुर र ललितपुर महानगरपालिकाबीच ललितपुर क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धीमा रु ३,५०,००,००० (तीन करोड पचाँस लाख) बराबरको CCTV प्याकेज जडान गर्ने सम्वन्धि समझदारी-पत्र (M.O.U.) मा हस्ताक्षर भएको छ ।

ललितपुर महानगरपालिकाको कार्यालयमा बिहिवार आयोजित एक कार्यक्रमबीच ललितपुर प्रहरी कार्यालयको तर्फबाट कार्यालय प्रमुख एसएसपी शिद्धी विक्रम शाह र ललितपुरका महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

सो अवसरमा ललितपुर जिल्लाका प्रमुख एसएसपी शिद्धी विक्रम शाहले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकनका प्रमुख चिरिबाबु महर्जनले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो । सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।


