६ असार ,काठमाडौ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको जनसेवा सामुदायिक वनबाट ठाडो रुख काटिएको बारेमा डिभिजन वन कार्यालयले कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
सो वन क्षेत्रको गैरी गाउमा सुकेको सखुवा प्रजातिको ठाडो रुख तस्करहरुले काँटेर १४ वटा गोलिया बनाइ लैजान ठिक्क पारेको अवस्थामा स्थानीयले बरामद गरि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका थिए ।
वडाअध्यक्ष वलराम राउत सहितको स्थानीयको टोलीले ठाडो रुख ढालेर १४ टुक्रा बनाइ जंगल छेउमा लुकाइ राखेको अवस्थामा आइतबार फेला पारेका थिए । आफुहरुले तत्कालै डिभिजन वन कार्यालयका प्रतिनिधीहरु बोलाएर गोलिया जिम्मा लगाएर रुख काट्ने दोषी उपर छानविन गरि कारवाहीको माग गरेपनि आजसम्म केही काम नगरेको वडाध्यक्ष राउत बताउँछन् ।
वन कार्यालयले सत्यतथ्य छानविन गर्न वेवास्ता गरेपछि वडा कार्यालयलेनै ३ दिनभित्र छानविन गरेर प्रतिवेदन पेश गर्ने गरी वडा सदस्य यम बहादुर राना मगरको संयोजकत्वमा, वडा सचिव अनिल कुमार राय, दलित महिला वडा सदस्य पवित्रा परियार सदस्य रहने गरी ३ सदस्सिय छानविन समिति गठन गरेको छ ।
समितिले ‘वन कार्यालयले रुख काट्नेहरु को–को हुन पत्ता लगाउन छानविन गर्न समेत वेवास्ता गरेपछि स्थानिय वडा कार्यालयमा उजुरी हालेपछि हामीले छानविन समिति गठन गरेर छानविन अगाडि बढाएका छौं’ उनले भने, ‘हामीले वरामद गरेको दिन वनको हेरालुले सो रुख सामुदायिक वनका पदाधिकारीको उपस्थितिमा काटिएको भनेका छन् । यस विषयमा हाम्रो छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेछ ।’
स्थानीयले पनि सामुदायिक वनका पदाधिकारीहरुको सहमति र संग्लनता नभइ दिउँसै वनभित्रै ठाडो रुख काँटेर गोलिया बनाउन असम्भव रहेको भन्दै वन कार्यालयले उनीहरुलाई जोगाउन छानविनबाट पछि हटिरहेको आरोप लगाएका छन् ।
वन कार्यालयका एक कर्मचारीका अनुसार सो घटनालाई छानविन नगर्न र पदाधिकारीहरुलाई उन्मुक्ति दिन ठुलै राजनितिक दवाव आइरहेका छन् । उनका अनुसार सामुदायिक वन महासंघका केही पदाधिकारीहरु पनि यो घटना सामसुम पार्न लागिपरेका छन् ।
तर स्थानीयले भने यो घटनाको सत्यतथ्य छानविन नगरे वन कार्यालय विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । स्थानीय संदिप श्रेष्ठले वन कार्यालयले कुनै पनि दवाव, प्रभावमा परेर दोषीलाई उन्मुक्ति दिने कार्य गरे आफुहरु वन कार्यालय विरुद्ध आन्दोलनमा उत्रन वाध्य हुने बताउँछन् ।
‘वन कार्यालय रुख काट्नेहरुलाई बचाउने खेलमा लागेको छ’ उनले भने, ‘रुख काटिएको दिनदेखिनै हामीले वन कार्यालयलाई छानविन गरेर दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन निरन्तर दवाव दिइरहेका छौं तर वन कार्यालयले कुनै चासो दिएको छैन् ।’
स्थानीयले वन कार्यालयलाई घटना कसले घटाएको सबै थाहा भएर पनि चुपचाप बसेको आरोप लगाउँदै रुख पनि वन कार्यालयका कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरुको मिलोमतोमा काटिएको आशंका गरेका छन्।
यसअघि पनि सो वनमा यसरी रुख काटिएर गायव बनाए पनि आजसम्म कसैलाई कारवाही नगरिएको र यो पटक पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता स्थानियको छ ।
यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्ण भने आफुहरुले यो घटनालाई निकै गम्भिर रुपमा लिएको बताउँदै छानविन कुनै कमीकमजोरी नगर्ने दावी गर्छन् ।