काठमाडौं: प्रहरीले एक दर्जन भन्दा बढी ठगी मुद्दाका फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए।
प्युठानका ४२ वर्षीय गोपाल भन्ने इश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको हो।
उनले विभिन्न सामाजिक संजालको प्रयोग गरी गौमुखी ग्रुप अफ इन्ड्रष्ट्रिज प्रालि, बागमती सप्लायर कम्पनी प्रालि लगायत कम्पनीको विज्ञापन गरेका थिए।
ती कम्पनीबाट सस्तोमा रड, सिमेन्ट लगायत हार्डवेयर सामानहरू दिने बताउँथे। बैंक खातामा पैसा जम्मा गराएपछि भने उनी सम्पर्कबिहीन भएर फरार हुन्थे।
यसरी ठगी गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई मंगलबार काठमाडौं रामशाहपथबाट पक्राउ गरेको हो।
एसपी मिलन केसीका अनुसार उनीविरूद्ध यही एउटा मुद्दामात्रै भने होइन्। उनी यस्ता ठगीका एक दर्जन बढी मुद्दाका फरार प्रतिवादी हुन्। उनीविरूद्ध कार्यालयमा मंगलबारमात्रै तीन वटा जाहेरी परेको हो।
असार १ गते वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो।
त्यस्तै, गत माघ २३ गते ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनबाट पक्राउ पुर्जी जारी भएको थियो। गत पुस २८ गत ईलाका प्रहरी कार्यालय तुलसीपुरले र गत कात्तिक २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट पुर्जी जारी भएको थियो।
गत चैत २२ गते जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरमा ठगी कसुरको जाहेरी परेको थियो।
परिसरमा २०६७मा नागरिकता किर्ते/ठगी मुद्दा, २०७२ सालमा ठगी तथा जबरजस्ती करणी, २०७६ सालमा वैदेशिक ठगी कसुर र कपिलवस्तुमा २०७८सालमा वैदेशिक ठगी कसुरका मुद्दा चलेको कार्यालयले जनाएको छ।
बाँके, प्युठान, दाङ, चितवन, पर्सा, सुनसरीबाट बैंकिङ कसुरमा मुद्दा चली धरौटीमा रिहा भएका थिए।
उनी पछिल्लो समय भारतको लखनउमा बस्दै आएका थिए। हालसम्म उनले ९८ लाख बढी रकम ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।