Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्चको आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउँदै

१२ असार ,काठमाडौ ।

आठ वर्षको आन्दोलनपछि इन्द्रजितको हातमा नागरिकता

०७२ मै नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका गणेशमान चारनाथ नगरपालिका–४ का ३१ वर्षीय इन्द्रजित साफीले आठ वर्षको संघर्षपछि आफूसँगै भाइहरूलाई पनि नागरिकता दिलाउन सफल भएका छन् ।

साफीका २९ वर्षीय माइला भाइ रञ्जित साफी, साहिँला भाइ २२ वर्षीय छोटु साफी र कान्छो २१ वर्षीय रविन साफीले नेपाली नागरिकता पाएका हुन् ।

यो आठ वर्षको अवधिमा नागरिकता प्राप्तिका लागि साफीले गरेको संघर्ष, झेलेको कठिनाइ र खेपेको सास्ती बयान गरी साध्य छैन । उच्च शिक्षा अध्ययनका लागि नेपाली नागरिकता चाहिने भएकाले उनी नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ‘तर, जन्मसिद्ध सन्तानको नागरिकताका लागि आवश्यक कानुन बनाउनुपर्ने भन्दै तत्काल नागरिकता दिन नसकिने भनेर फर्काइयो,’ उनले भने । नागरिकताभन्दा शिक्षा आवश्यक ठानेर उनी उच्च शिक्षा अध्ययनका लागि भारतको हरियाणा पुगे । हरियाणामा उच्च शिक्षा अध्ययनका लागि नेपाली नागरिकताको आवश्यकता नपरेकाले उनी चार वर्ष त्यहीँ बसेर सिभिल इन्जिनियरको पढाइ सकाए । मध्यम वर्गमा जन्मेका साफीले भारतबाट पढाइ सकाएर आएपछि आयआर्यजनतर्फ ध्यान दिए । तर, नेपाली नागरिकता नहँुदा कहीँ रोजगार पाएनन् । ‘आफ््नै देशमा अनागरिक र शरणार्थी भएको महसुस हुन थाल्यो,’ उनले भने, ‘त्यसपछि नागरिकता जसरी पनि लिनुपर्छ, यो समस्या मेरो मात्र होइन, लाखौँ युवाको हो भनेर त्यसमा लागेँ ।’

नागरिकताबाट वञ्चित रहेकाहरूसँग मिलेर जिल्लामा ठूला नेतादेखि लिएर सिडिओसम्मलाई लिखित तथा मौखिक डेलिगेसन जाने, उनीहरूलाई आफ्ना समस्या सुनाउनेलगायतका गतिविधि गर्न थाले । साफीले ९ जेठ ०७८ मा नागरिकताविहीन संघर्ष समिति गठन गरेर धनुषामा आन्दोलनका कार्यक्रम गर्न थाले । ‘सुरुमा हामीले आफ्नै जिल्लामा आन्दोलन गर्‍यौँ । तर, त्यसले सरोकारवालाहरूको ध्यानाकर्षण गर्न सकेन । नागरिकताको समस्या धनुषामा मात्रै छैन, तराई–मधेसका अधिकांश जिल्लामा छ । त्यसकारण आन्दोलनलाई देशव्यापी पुर्‍याउनुपर्छ भन्ने सोच आयो,’ साफीले भने । सोही योजनाअनुसार १० भदौ ०७८ मा मेची–महाकाली अभियान सञ्चालन गरे । सोही अभियानका क्रममा तराई–मधेसका २५ जिल्लामा नागरिकताविहीन संघर्ष समिति गठन पनि गरे

त्यसपछि मात्र केही नेताहरूले नागरिकताको विषय आफ्ना भाषणमा उठाउन थाले । नेताहरूले नागरिकता समस्याको विषयमा बोल्न थालेपछि आफूहरूको हौसला बढ्न थालेको उनले सु्नाए । ‘केपी ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत नागरिकतासम्बन्धी कानुन ल्याउँदा हामी खुसी भएका थियौँ । तर, त्यो खुसी धेरै दिन टिक्न सकेन । सर्वोच्च अदालतमा मुद्दा परेपछि त्यो रोकियो,’ उनले भने, ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकता विधेयक संसद्बाट पारित गराउँदा मजस्ता लाखौँ नागरिकताविहीन युवायुवती प्रसन्न थिए । तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगर्दा मन खिन्न भएर पुनः आन्दोलन थाल्नुपर्छ भनेर १० चैत ०७९ मा मेची–महाकाली अभियान सञ्चालन गरेँ ।’

ढिलै भए पनि नागरिकता पाएर यो देशको नागरिक भएकोमा खुसी लागेको उल्लेख गर्दै उनले भने, ‘म मात्र होइन, मजस्ता लाखौँ नागरिकताविहीन युवाहरू खुसी भएका छन् । हिजोसम्म नागरिकताका लागि लडियो, अब देशका लागि केही गर्छु भनेर सोच बनाएको छु ।’ धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जन्मसिद्ध नागरिकता लिनेको अहिले घुइँचो लागेको र विस्तारै अवस्था सामान्य हुँदै जाने बताए ।

नागरिकता पाएपछि जन्मसिद्ध नागरिकका सन्तान भन्छन्– भविष्यको खुल्यो ढोका
सिराहा नगरपालिका– १६ माडर जिल्लाकै सीमावर्ती गाउँ हो । सिराहामै समाजसेवामा अग्रणी स्थान बनाएको परिवार भए पनि नागरिकता नहुँदा १९ वर्षीय पियुष अग्रवालको १२ कक्षा उत्तीर्ण गरेपछि बी फर्मा पढ्ने रहर पूरा भएन । सर्वोच्च अदालतको आदेशसँगै जन्मसिद्ध नागरिकता भएका बाबुआमाका सन्तानको रूपमा उनले पनि जिल्ला प्रशासन कार्यालय सिराहाबाट वंशजको नागरिकता प्राप्त गरेपछि फुरुंग छन् ।

‘नागरिकता पाएपछि सबैभन्दा ठूलो कुरा पाएको महसुस भएको छ,’ उनले भने, ‘बी फर्मा पढ्ने ढोका बल्ल खुलेको छ, आफूले चाहेको विषय पढेर पुर्खाले चलाएको औषधिले व्यवसाय धान्नेछु ।’ पियुषका बाबु सन्तोष अग्रवालले ढिलै भए पनि छोराको नागरिकता बनेकोमा निकै खुसी छन् । ०६३ को नागरिकता टोलीमार्फत नागरिकता बनाएका उनले त्यसअघि नै जन्मिएकाले पियुषको नागकिता रोकिएको जानकारी दिँदै भने, ‘ढिलै भए पनि नागरिकता बनेको छ, अब छोराले चाहेको बी फर्मा पढाउँछु ।’ विष्णुपुर गाउँपालिका– ३ राजपुर गाउँकी २७ वर्षीया रेणुकुमारी यादवको चार वर्षकी छोरी पनि छिन् । धनुषाको मिथिला नगरपालिका ढल्केवर माइती भएकी उनले विवाहपछि गाउँमै जसोतसो १२ कक्षासम्मको अध्ययन गरिन् । घरायसी कारणले रोजगारी गर्नैपर्ने बाध्यता थियो, तर नागरिकता नहुँदा पाएकी थिइनन् । श्रीमान् शिवदयाल यादवले स्थानीय प्रशासनसँग हारगुहार गरेर छोरी सुरुचीको जन्मदर्ता बनाएपछि छोरीले पढ्न पाएको उनले बताइन् । ‘थोरबहुत आम्दानी बैंक खाता खोलेर राख्न, जीवन बिमा गर्न पाएको थिइनँ,’ उनले भनिन्, ‘अब रोजगारीमा जानेसहित उच्च शिक्षा पढ्न पाउने भएकी छु, दुःख गरेर भए पनि पढेर आफ्नो र परिवारको भविष्य बनाउँछु ।’

लहान नगरपालिका– २१ माधोपुर गाउँकी २४ वर्षीया रिनाकुमारी दासले ०७३ मा माइतीगाउँको बस्तीपुर माविबाट एसएलसी उत्तीर्ण गरेदेखि नै नागरिकता बनाउन दौडधुप गरेको सात वर्ष हुँदै छ । लहानस्थित इलाका प्रशासन कार्यालयको मुख्य गेटमा नागरिकता प्राप्तिका लागि टाँस गरिएको सूचना पढ्दै गरेको अवस्थामा आइतबार मध्याह्न चार वर्षीय छोरासँगै भेटिएकी रिनाले भनिन्, ‘नागरिकताका लागि सात वर्षदेखि इलाका, माइतीगाउँको वडा कार्यालयमा दौडधुप गरिरहेकी छु, अब त मेरो पनि नागरिकता बन्छ भन्ने आशा पलाएको छ ।’

चितवनमा एकैदिन ३९ जनाले लिए वंशजको नागरिकता
चितवनमा एकैदिन बुबाआमाको जन्मका आधारमा ३९ जनाले वंशजको नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार ८८ जनाले आइतबार कार्यालयबाट नागरिकता बनाएका थिए । जसमा ३९ जना बुबाआमाको जन्मका आधारमा नागरिकता पाउने थिए ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउन थालेका हुन् । सर्वोच्चले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ऐन कार्यान्वयनको बाटो खुलेको हो । गु्रप फर सिटिजनसिप नेपालका संयोजक शिवु क्षेत्रीका अनुसार वर्षौँदेखि नागरिकताबाट वञ्चित भएर अनागरिक भएकाहरू नागरिकता पाएसँगै उत्साहित भएका छन् । चितवनमा मात्र उमेर पुगेर पनि नागरिकता नभएका चार हजारभन्दा बढी छन् ।

जन्मसिद्धका सन्तान रोहित जाजूले पाए वंशजको नागरिकता
विराटनगरका रोहित जाजूले जन्मसिद्ध आमाबाबुबाट वंशजको नागरिकता पाएका छन् । विराटनगर महानगरपालिका– ९ निवासी नन्दकिशोर र सुमन जाजूका छोरा रोहितले सोमबार जिल्ला प्रशासन मोरङबाट जन्मसिद्ध नागरिकता प्राप्त गरेका हुन् । जाजू जन्मसिद्ध नागरिकता प्राप्त गर्ने आमाबुबाको सन्तानबाट पहिलोपटक वंशजको नागरिकता प्राप्त गर्ने सेवाग्राही बनेको भन्दै मोरङका सहायक सिडिओ शरदकुमार पोखरेलले नागरिकता प्रदान गरे ।

०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका आमाबुबाहरूका सन्तानले लामो संघर्ष गर्दा पनि वंशजको नागरिकता प्राप्त गर्न पाएका थिएनन् । पछिल्लो समय सर्वोच्च अदालतले बाधा फुकाइदिएपछि मोरङमा नागरिकता सिफारिस गराउन पालिकाको वडा कार्यालय र लिनका लागि इलाका र प्रशासन कार्यालयमा सेवाग्राहीहरूको भिड लागेको छ । सर्वोच्चले बाधा फुकाएछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन गरे पनि आइतबार विराटनगरमा जन्मसिद्धका सन्तान एकजनाले पनि नागरिकता प्राप्त गरेनन् । विराटनगर महानगरपालिका र गाउँपालिकाहरूको बजेट भाषणले गर्दा वडा कार्यालयहरूले सिफारिस नगर्दा सदरमुकाम विराटनगरस्थित प्रशासन कार्यालयबाट कसैले पनि नागरिकता पाउन नसकेको पोखरेलले बताए । प्रशासन कार्यालयका अनुसार मोरङमा ३५ हजारले जन्मसिद्धको नागरिकता लिएका छन् ।

पर्सामा नागरिकताका लागि २७ सयले लिए टोकन
जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउन थालेको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । उनले पर्साबाट एक दिनमा एक सय २७ जनाले नागरिकता पाइसकेको जानकारी दिए । उनका अनुसार पर्सामा एक दिनमा दुई सय नागरिकता दिने योजना रहे पनि सर्भर डाउन भएपछि कम वितरण भएको छ । सुरुको दुई दिनमा चार सय नागरिकता वितरण गर्ने योजना रहेको बताउँदै उनले मंगलबारबाट एक दिनमा एक सयवटा वितरण गरिने योजना रहेको बताए । अनलाइन प्रक्रियाबाट २७ सयजनाले टोकन लिइसकेको रेग्मीले बताए । वीरगन्ज महानगरपालिका– २१ लिपनीविर्ताका चन्दन रौनियार जिल्ला प्रशासन कार्यालयमा पसिना पुछ्दै लाइनमा उभिएको अवस्थामा भेटिए । गर्मी र घामको पर्वाह नगरी उनले त्यतिवेला नयाँ नागरिकता बनाउने प्रक्रिया पूरा गरेर नागरिकताको पर्खाइमा थिए । उनी जन्मका आधारमा नेपाली नागरिकता लिएका सन्तान भएर वंशजका आधारमा नागरिकता पाउने अवस्थामा थिए ।

सर्लाहीमा दुई दिनमा ९२ नागरिकता वितरण
सर्लाहीमा जन्मका आधारमा नागरिकता लिनेको संख्या ९२ जना पुगेका छन् । आइतबार र सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जन्मका आधारमा ९२ वटा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाबाट समेत गरी यो संख्यामा नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नागरिकता विधेयक कार्यान्वयनपछि आइतबार जन्मका आधारमा जिल्ला प्रशासन कार्यालयबाट २४ जनाले नागरिता लिएका थिए । सोमबार ६८ जनाले नागरिकता लिएका हुन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जन्मका आधारमा नागरिकता प्राप्तिका लागि १४ किसिमका कागजात पुग्नुपर्ने जनाएको छ । सूचनाअनुसार जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फाराम भर्नुपर्ने, बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, आमाबुबा र नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि लगाएका कागजात संलग्न गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment