काठमाडौं : कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय व्यवसायी पक्राउ परेका छन्। उनीहरूविरुद्धमा इलाजसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने भएको छ।
लामो समयदेखि एकछत्र गैरकानुनी रूपमा मापदण्डविपरीत औषधि बेचबिखन गर्दै आएका ११ भारतीय औषधि व्यवसायीविरुद्ध कञ्चनपुर प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री–वितरणविरुद्ध मुद्दा चलाइने भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उनीहरूविरुद्धमा दुई मुद्दा आकर्षित हुने भए पनि शीघ्र कारबाहीका लागि इलाजसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउन लागेको बताए।
पक्राउ परेका ११ भारतीयविरुद्धमा औषधि व्यवस्था विभागबाट समेत मुद्दा चलाउन सकिने भएकाले उताबाट कसुर कम लाग्ने भएकाले इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउन लागेको बताए।
इलाज कसुरमा कानुनबमोजिम औषधि बिक्री–वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजतप्राप्त व्यक्तिको सिफारिसविना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध विषादी वा जोखिमपूर्ण औषधि बिक्री–वितरण गर्न नहुने कानुनमा उल्लेख छ।
तर, ती भारतीय नागरिकले गैरकानुनी रूपमा औषधि बिक्री–वितरणदेखि उपचार गरेर मानव स्वास्थ्यमाथि हानि पुर्याएको भेटिएको एसपी थापाले बताए।
उनका अनुसार पूर्ण जोखिम, मध्यम तथा समान्य गरी तीन प्रकारले अवैध रूपमा औषधि बेचबिखन गरेको पाइएको छ। ‘अवैध रूपमा गर्भपतन गराउने पनि रहेछन्,’ एसपी थापाले भने, ‘उनीहरू सबै एकेडेमिक रूपमा मेडिकल शिक्षा अध्ययन गरेका होइनन्, यस्तै औषधि पसलमा काम गरेर नेपालमा आएर पसल थापेको पाइयो।’
दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट नाै र भीमदत्त नगरपालिकाबाट दुईजनालाई पक्राउ गरिएको एसपी थापाले बताए। उनका अनुसार दोधाराचाँदनी नगरपालिका– १ मिलन चौराहमा अनुमति नलिएर औषधि पसल सञ्चालन गरेर उपचार गर्दै आएका भारत उद्धवसिंह नगर कुतियाकभरका ३८ वर्षीय निवास गाइन, दोधाराचाँदनी– ३ श्रेष्ठ चौराहमा अवैध रूपमा मेडिकल सञ्चालन गरेका उद्धवसिंह नगर खटिमा बस्ने ३२ वर्षीय कार्तिक सरदार, सोही ठाउँ बस्ने ४९ वर्षीय निरञ्जन अधिकारी छन्।
यस्तै, उद्धवसिंह नगर खटिमा बस्ने २५ वर्षीय भूपेन्द्र पुरी, दोधाराचाँदनी– ४ लठघाट चौराहमा पसलको नाम नराखी अनुमतिविनै औषधि पसल सञ्चालन गर्दै आएका पिलिभित रानीकलौनी पोस्ट मजौलाका ४४ वर्षीय सुधांशु हल्दार, उद्धवसिह नगर खटिमा बस्ने २३ वर्षीय रवि विश्वास र दोधाराचाँदनी– ७ कञ्चनभोजमा अनुमतिविनै मेडिकल सञ्चालन गरेका भारत उद्धवसिंह नगर खटिमा बस्ने २६ वर्षीय सञ्जय विश्वास, ४६ वर्षीय राजेश विश्वास, ४५ वर्षीय सन्तोष सरकारलाई पक्राउ गरिएको थियो।
भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवबाट भारत नोदिया पोस्टग्राम इटापुकुरका ३९ वर्षीय गोकुल मण्डल र भीनपा– १३ बडैपुरबाट भारत पिलिभित न्युरियाका ३५ वर्षीय राजा शान्तिरज बैरागीलाई पक्राउ गरिएको थियो। कञ्चनपुर प्रहरीले जिल्लाका अन्य स्थानमा पनि यस्तै गैर कानुनी रूपमा मेडिकल सञ्चालन गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ।



