Comments Add Comment

Advertisment

SKIP THIS

नारी शक्तिको जागरण गराउने भन्दै करोडौं ठग्ने धर्म गुरू पुरूषोत्तम काफ्ले पक्राउ

काठमाडौं, ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

उनी दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरूषोत्तम काफ्ले हुन्। तर उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँथे।

उनले काठमाडौंमा ‘हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल’ नामको संस्था खोलेका थिए। उनले ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाएका थिए।

‘उनले नारी शक्तिको जागरण गराउने भनेर पैसा लिने गरेको पायौं। कतिपयलाई शोषण समेत गरेको पाएका छौं’, एसपी अधिकारीले भने।

पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी गर्न अभिप्रेरित गराउन स्‍वअध्ययनसम्बन्धी ३ दिने सेमिनार गरी संस्थाको सदस्य समेत बन्न उनले लगाएका थिए। त्यसबापत उनले १०८ रुपैयाँ लिएर फारम भराउँथे।

एसपी अधिकारीका अनुसार आफ्नो संस्थामा आबद्ध भए मुनाफा हुने प्रलोभन देखाएर लगानी गर्न लगाएका थिए। तर त्यसपछि पनि पटकपटक लगानी गर्न लगाएर ५ करोडभन्दा बढी रकम र एक सय तोलाभन्दा बढी सुनका गरगहना समेत लिएर ठगी गरेको प्रहरीले जनाएको छ।

त्यसरी ठगी गरी उनी भारत भागेका थिए। ब्युरोमा यसरी सम्पर्कविहीन भएको भन्ने खबर पाएपछि प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट शनिबार पक्राउ गरेको हो।

उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै