२१ असार , काठमाडौ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईंमाथि आक्रमण प्रयास गएको छ । गुन्सी स्थित वडा कार्यालयमा शिक्षक नीराजन लामाले उनलाई आक्रमण प्रयास गरेका हुन् ।
लामाले बुद्धको मूर्तिले प्रहार गर्दा सेवाग्राही स्थानीय देवीप्रसाद गौतम घाइते भएका छन् । आक्रमण गर्ने शिक्षक दोलम्बा सैलुङ गाउँपालिका–६ स्थित बुद्धेश्वरी आधारभूत विद्यालय तिमालडाँडाका शिक्षक हुन् । मापसे गरेर अध्यक्षलाई तथानाम गाली गर्दै आक्रमण प्रयास गर्ने शिक्षकलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।
मंगलबार मादक पदार्थ सेवन गरेर वडा कार्यालयमा आएका लामाले ‘मेरो टोलमा जाने बाटो कहिले बन्छ रु’ भन्दै आक्रमण गरेको स्थानीयहरू बताउँछन् । आफूतर्फ हानेको मूर्तिले लागेर देवी प्रसादको आँखा र मुखमा चोट लागेको सुनापति–१ का वडा अध्यक्ष ध्रुव चौलागाईंले रातोपाटीलाई जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।







