२२ असार , काठमाडौ । सानेपा स्वास्थ्य संस्था ३५ वर्ष पुगेको अवसरमा आज शुक्रबार बिहान संस्थामा निःशुल्क स्वास्थ्य परीक्षण क्याम्प संचालन गरियो । आज विहानैदेखि स्वास्थ्य परीक्षणका लागि भिड लागेको छ ।
युनाइटेड मिशनले स्थापना गरेको शान्ता भवन अस्पताल सानेपाबाट सरेपछि सर्वसाधारणका लागि प्रतिष्ठित पर्यटन व्यवसायी स्व. श्याम कक्षपतिलगायत स्थानीयहरुले सानेपा स्वास्थ्य संस्थामार्फत स्थानीय संस्थालाई सहयोग गरेका थिए ।
अहिले रानीदेवी गुरुङ कक्षपति सक्रियताका साथ उक्त संस्था सञ्चालनमा लाग्नुभएको छ । अहिलेसम्म ६ लाखभन्दा बढीले उक्त स्वास्थ्य संस्थाबाट सेवा लिइसकेको कक्षपतिले बताउनुभयो ।
उक्त स्वास्थ्य चौकीले बेला–बेला काठमाडौं वरपरका ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
बल्खु रिङरोडबाट सानेपा जाने बाटोमा स्थापना गरिएको उक्त स्वास्थ्य चौकी बिहान ८ बजेदेखि १० बजेसम्म खुल्ला रहने छ । बिरामीहरुले स्वास्थ्य परीक्षण गरेपछि जटिल रोगको उपचारका लागि अस्पताल पठाइने गरेको छ ।

उक्त स्वास्थ्य संस्थामा डा. हरिहर खनाल (हृदयरोग), डा. नविसमान सिंह प्रधान (अर्थो), डा. प्रेमल जोशी (इएनटी), डा. यमुना सुवाल (गाइनो), डा. जेएन गिरी (फिजिसियन), डा. मुकेशपुरुष ढकाल (हाडजोर्नी), डा. फिल्पि श्याम रंजित, डा. मनोहर गुप्ता, डा. सुनिल अग्रवाल, डा. दिपिका हाडा, डा. अभिषेक ठाकुर र डा. टेकेन्द्र कार्की लगायतका वरिष्ठ चिकित्सकहरुले निःशुल्क सेवा दिइरहनुभएको छ ।
उक्त स्वास्थ्य संस्थाम स्वस्तिक हेल्थ ग्रुप, सानेपा क्लब, लाइफालाइन हेल्थ ग्रुपले पनि सहयोग पु¥याइरहेका छन् ।
स्वस्तिक हेल्थ ग्रुपका चिकित्सक डा. मरासि थापा, डा. निकोलस लोमिनुक्पा, डा. दिपीका हाडा र डा. सुमित अग्रवालले पनि निःशुल्क सेवामा योगदान गर्नुभएको छ ।
संस्थाका संरक्षक रानीदेवी गुरुङ कक्षपतिका अनुसार संस्थाले सर्वसुलभ मूल्यमा एउटा फार्मेसी पसल सञ्चालन गर्ने योजना बनाएको छ । उक्त फार्मेसीबाट कतिपय रोगको औषधि निःशुल्क वितरण गर्ने योजना पनि छ । शुभ फाउण्डेशनले औषधिका लागि योगदान गर्ने छ । शुभ फाउण्डेशन स्वर्गीय श्याम कक्षपति र रानी कक्षपतिको आमा शुभ गुरुङको सम्झनामा स्थापित संस्था हो ।








