काठमाडौं। बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको उपस्थितिमा चितवन राप्ती नगरपालिका वडा नं. १ परेवाकोट स्थितमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
चितवनको परेवाकोटमा गाँजा खेतीलाई निरुत्साहित गर्न कफी खेतीको सुरुवात गरिएको छ । नगदेबालीअन्तर्गत रहेर आयआर्जनमा परेवाकोटका नागरिकलाई जोड्न गाँजा खेतीको विकल्पका रुपमा कफी खेतीको सुरुवात गरिएको हो ।

बिहीबार प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको अगुवाईमा राप्ती नगरपालिका–१, परेवाकोटबाट कफी रोप्न सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक किरण राणाको उपस्थितिमा कफी रोप्न सुरु गरिएको हो ।
पहिलो चरणमा मकवानपुर र चितवनको विभिन्न क्षेत्रमा गाँजा न्यून गर्न ‘कफी खेती’को सुरुवात गरिएको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।
प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको सुरुवात गरेको हो ।








