काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी प्रधान कार्यालय तथा मातहतका जिल्लाहरुमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतहरु पुरस्कृत भएका छन् । उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीसमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी र डीआईजी बुद्धिराज गुरुङलाई पनि पुरस्कृत गरेको छ । एआईजी चौधरीले २ हजार ५ सय र डीआईजी गुरुङले २ हजार ४ सय नगद पुरस्कार पाएका छन् ।
पुरस्कार पाउनेहरूमा जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध महाशाखाका एसएसपी मनोजकुमार केसी र सिआईबीका दिनेशकुमार आचार्य छन् । विभिन्न जिल्लाका एसपीहरू दिलिप घिमिरे, नरेशराज सुवेदी, रामेश्वर कार्की, देवेन्द्रबहादुर पाल, सन्तोष खड्काले पनि नगद पुरस्कार पाएका छन् । डीएसपीहरू अञ्जना श्रेष्ठ, जयश्वर रिमाल, प्रदीन ताम्राकारले पनि नगद पुरस्कार पाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीलाई कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन तथा जिल्लाको नेतृत्व सफलताका साथ गरेको भन्दै प्रहरी प्रधान कार्यालयले एसएसपी कार्कीलाई २ हजार ४ सय रुपियाँको नगद पुरस्कार प्रदान गरेको हो । एसएसपी कार्कीले पाएको नगद पुरस्कारको अभिलेख जनाइदिन भन्दै प्रहरी हेडक्वाटरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंलाई पत्र लेखेको छ ।
‘विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, ईमान्दार, व्यवसायिक एवम् कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन गर्दै आइरहेका नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतका निजलाई प्रहरीलाई पुरस्कृति गरिँदा प्रहरी कर्मचारीहरू समेतमा सकारात्मक प्रभाव पर्ने हुँदा निजलाई प्रहरी नियमावली २०१७ (संशोधनसहित) परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरि पुरस्कृत गर्ने २०८०/०४/०१ गतेको प्रहरी महानिरीक्षकज्यूबाट निर्णय भएको हुँदा निजको अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनु हुन टिप्पणी आदेश पर्चा १/१ यसै साथ संलग्न राखी पठाइएको छ’, पत्रमा भनिएको छ ।
नगदसहित पुरस्कार पाउनेहरूमा प्रहरी निरीक्षकहरू कृष्णबहादुर कुँवर, प्रहरी नायब निरीक्षक दीव्यराज मोक्तान, प्रहरी सहायक निरीक्षक रोशनआंगा श्रेष्ठ पनि रहेका छन् ।

प्रहरी वरिष्ठ हवल्दार सरोज गिरी अथित, प्रहरी सहायक हवल्दार मनीष लामा, प्रहरी सहायक हवल्दार विकास बिक, प्रहरी सहायक हवल्दार सुशीला लामा, प्रहरी सहायक हवल्दार दीपकसिंह खत्री, प्रहरी कार्यालय सहयोगी पुरुषोत्तम नेपाल, प्रहरी कार्यालय सहयोगी धिरेन्द्रकुमार मण्डल र प्रहरी कार्यालय सहयोगी दीपक खड्का पनि रहेका छन् ।




