Comments Add Comment

Advertisment

SKIP THIS

डेढ महिनादेखि सम्पर्कबिहीन कैलालीकी मन्जु रावलको शव सामुदायिक वनभित्र भेटियो

कैलाली । डेढ महिनादेखि घरबाट सम्पर्कबिहीन मन्जु रावलको शव आइतबार फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जुको अस्थिपञ्जर मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको हो ।

प्रहरीले खोजतलास गर्दा सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २ सय मिटर टाढा खोलामा मन्जुको शरीरको केही भाग कंकाल भएर छरिएको अवस्था फेला परेको हो। आफन्त र माइतीले शवको लुगाका आधारमा मन्जुको पहिचान गरी सनाखत गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

डिएसपी चन्दका अनुसार मन्जुको हत्या आरोपमा ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका –६ तोली बस्ने ३७ वर्षीया सरिता रावललाई पक्राउ गरिएको छ।

पक्राउपछि गोमाले सुरूमा आफू भारतमा बस्ने भएकाले नेपालमै नभएको र मन्जु बेपत्ता भएको विषयमा केही जानकारी नभएको दाबी गरेकी थिइन्।

‘प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा अन्ततः आफू नै घटनाको मुख्य योजनाकार रहेको गोमाले स्वीकार गरेकी छन्,’ डिएसपी चन्दले भने।

प्रहरीका अनुसार गोमाकै योजनामा घटनामा अरू व्यक्तिहरू पनि संलग्न भएको पाइएको छ। गोमाले आफ्ना स्वर्गीय श्रीमानको सम्पत्ति हासिल गर्न अरू व्यक्तिहरूलाई मन्जुको हत्या गर्न अह्राएकी प्रहरी अनुसन्धानमा देखिएको छ।

‘गोमाले हत्या भएको स्वीकार गरे पनि मन्जुको शव फेला परेको थिएन। शव नभेटिएसम्म पुष्टि गर्न गाह्रो थियो। अनुसन्धान गर्दै जाँदा डेढ महिनापछि मन्जुको शव भेटिएको छ,’ डिएसपी चन्दले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै