काठमाडौं । विराटनगर महानगरपालिका ९ मा रहेको ग्रीनक्रस अस्पतालबाटै बच्चा गायव पारिएको प्रकरणमा डाक्टरसहित ६ जना पक्राउ परेका छन् । अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) चिकित्सकले नै बेचेको खुलासा भएपछि उनीहरुलाई पक्राउ गरी मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।
अस्पतालबाटै गायब भएको नवजात शिशु ७ लाख खर्च गरेर आफूले किनेको दिलमाया राजवंशीले प्रहरीलाई बयान दिएकी छिन् । नवजात शिशु सोही अस्पतालका डाक्टर तपेश्वर लाल कर्णले पाँच लाख लिएको र उपचार बापत २ लाख रुपैयाँ आफूले तिरेको राजवंशीले बताइन् । मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीले शिशु लगेको पुष्टि भएको हो । उक्त शिशु प्रहरीले फेला पारेको छ ।

विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि नवजात शिशु लिन सात लाख रुपैयाँ खर्च गरेको बयान दिएकी हुन् । नवजात शिशु लिने र बेच्ने डाक्टलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ । अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्तालबाटै विक्री भएको तथ्य यसअघि नै खुलेको थियो । आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् ।
युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कर्ण र अविवाहित युवतीका प्रेमि गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
यस्तै प्रहरीले डा.तपेश्वरसँगै उनको क्लिनिकमा काम गर्ने निर्मला यादव, ग्रीनक्रस अस्पतालकी कर्मचारी सुधा राजवंशी, अविवाहित युवतीका प्रेमी राई, बच्चा जिम्मा लिने दिलमाया र उनका छोरा सूर्यनारायणलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
बिहे नभएकी २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन् । प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। उनीबाट भोलिपल्ट जन्मिएको शिशुलाई त्यही दिन बिक्री गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


