काठमाडाैं | अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीवार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् ।
फिल्ममा रेखाका साथै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ ।
आगामी सोमवारबाट छायांकन सुरु हुने फिल्मलाई काठमाडौं आसपासमा खिचिनेछ ।
रेखा फिल्मस् र कपनगढी फिल्मसको संयुक्त ब्यानरमा बन्न लागेको फिल्म सामाजिक विषयवस्तुमाथि आधारित हुनेछ । फिल्ममा अभिमन्यू निरवी तथा सुलक्षण भारतीको लेखन छ ।
कुनै समय नेपाली फिल्ममा बलियो पकड बनाएकी रेखा फिल्म ‘मालिका’यता अभिनयमा सक्रिय थिइनन् । उनी पाँच वर्षको अन्तरालपछि आफ्नो होम प्रोडक्सनको फिल्म ‘उपहार’मार्फत अभिनयमा फर्किएकी हुन् ।


