
काठमाडौं । विवाह गर्छु भनेर महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएका अनिल रिजाल भनिने (लक्ष्मी प्रसाद रिजाल) लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंको टोलीले उनलाई गत शनिबार पक्राउ गरेको हो । ४२ वर्षीय रिजालले एक महिलालाई ‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर घरमा भएकी आफ्नी श्रीमती संग सम्बन्ध विच्छेद भएको नक्कली कागजपत्र र जग्गाजमिन भागबन्डा भएको देखाएर जालसाजी गरेर पटक–पटक बलात्कार गरेको बताइएको छ ।
काठमाडौंको गौशालाइस्थित एउटा लजमा लगेर उनले महिलालाई पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एवम एसपी कुमोद ढुंगेलले बताए । एसपीका अनुसार महिला सँग प्रेमको बहाना बनाएर नजिकिएका अनिलले आफ्नो स्वार्थ पुरा भएपछि सम्पर्कमा आउन छाडेका थिए ।
महिलाले रिजाल विरूद्ध किटानी जाहेरी दिएपछि गत शनिबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो । रिजाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत उपस्थित गराइएको थियो। अदालतले रिजाललाई सात दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको एसपीले बताए।