१७ भदौ ,काठमाडौ । गएको आम निर्वाचनबाट मुलधारका राजनीतिक दलहरुलाई चुनौति दिने गरी नयाँ दलहरु उदाएका छन् ।
जसले गर्दा आगामी निर्वाचन झनै चुनौतिपूर्ण हुने देखिएपछि मुलधारका भनिएका सवै जसो दलहरु मिशन ८४ मा लागेका छन् । जनतासँग पुग्न नसकेको निश्कर्षसहित ती सबै दलहरुले पार्टीलाई रुपान्तरण गर्नुपर्ने भन्दै जनतामाझ पुग्ने अभियान थालेका छन् । दश वर्षे सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आएको सत्तारुढ माओवादी केन्द्रसमेत पार्टी सुधार अभियानमा लागेका छन् ।
गएको आम निर्वाचनमा आफूलाई मुलधारका बताउने ठूला राजनीतिक दलहरु नै एक्ला एक्लै निर्वाचनमा भाग लिने आँट गरेनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले एउटै गठबन्धन बनाएर संघ र प्रदेशको चुनावमा होमिएका थिए ।
एमाले, राप्रपा, जनता समाजवादी पार्टी ९जसपा० लगायतका दलहरुले छुट्टै गठबन्धन गरे । तर पनि दलहरुले सन्तोषजनक परिणाम ल्याउन सकेनन् । त्यसपछि भएको उपनिर्वाचनमा गठबन्धन बनाएर पनि संसदको ठूलो दल नेपाली कांग्रेसले एक सिट गुमायो । निर्वाचनमा जितेको सिट समेत नयाँ दलले खोसेपछि कांग्रेसका पाका नेताहरुको विकल्प खोज्नुपर्ने आवाज उठ्न थाल्यो । युवा नेताहरुले पार्टी रुपान्तरण अभियान चलाए ।
यस्तै संसदको दोस्रो ठूलो दल बनेको नेकपा एमाले पनि मिशन ८४ अभियानमै छ । ग्रासरुट लगायतका विभिन्न अभियान चलाएको एमालेले पार्टीको भेला सम्मेलन तथा प्रशिक्षणहरु चलाइरहेको छ । यस्तै, संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि शान्ति प्रक्रियामा आएपछि पार्टी नेता कार्यकर्ता विग्रिएको निश्कर्षमा छन् । त्यसैले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत वडा तहमै पुग्ने अभियान चलाएका छन् ।
सत्ता राजनीतिमा रमाएको माओवादीका नेता कार्यकर्ता जनतासँग पुग्नै छाडेको भन्दै तीन महिने अभियान शनिवारबाट शुरु गरेको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ नाम दिएर हरेक स्थानीय तहको वडासम्म नै पुग्ने लक्ष्य माओवादीको छ । कांग्रेस, एमालेले जस्तै माओवादी अध्यक्ष प्रचण्डले पनि कार्यक्रमको भर्चुअलबाट उदघाटन गर्दै पार्टी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी बलियो बन्ने दाबी गरेका छन् ।
माओवादीले यो अभियानबाट पार्टीलाई रुपान्तरण गर्दै संगठन निर्माण तथा विचारको विकास गर्ने दाबी नेताहरुले गरेका छन् । आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य माओवादीको छ । माओवादी अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्ड मात्र होइन, उपप्रधान एवम् गृहमन्त्री रहेका माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी अभियान कार्यक्रमले सरकारले कामको तारिफ गरेका छन् ।
माओवादी नेता कार्यकर्ताहरु जनताका बीचमा पुग्नै छाडेको र सत्ता राजनीति र विलासितामा रमाउन थालेको स्वयं माओवादी नेताहरु स्वीकार्छन् । पार्टी रुपान्तरण गर्ने तीन महिने अभियान सञ्चालनसँगै माओवादीले सरकारमा रहेर ठूला ठूला भ्रष्टाचारको फाइल खोलेर ठूलै काम गरेको भन्दै आफ्नै तारिफ गर्न थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवास जग्गा प्रकरण हुँदै ६० किलो सुन बरामद प्रकरणसम्म कुनै पनि निश्कर्षमा पुग्न सकिरहेको छैन । ती सबै प्रकरणहरु निश्कर्षमा पुर्याएर अन्य बन्द रहेका ठूला भ्रष्टाचारका फाइलहरु खोलिएमा मात्रैसरकारले गरेको कामको तारिफयोग्य हुनेछ । अन्यथा मुलधारका भनिएका दलहरुलाई नागरिकले पत्याउने ठाउँ भने रहनेछैन ।