काठमाडौं : मानव बेचबिखन ब्युरोले भिजिट भिसामा विदेशका विभिन्न मुलुकमा लैजान लागेको आशंकामा शुक्रबार र सनिवार मात्रै ५० जना भन्दा बढीलाई विमानस्थलबाट पक्राउ गरिएको हो।
मानव तस्करको समूहले भिजिट भिसामा विदेशका विभिन्न मुलुकमा लैजान लागेको आशंकामा मानव बेचबिखन ब्युरोले ७ महिनाको अबधिमा छ हजार जना भन्दा बढीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको मानव बेचबिखन ब्युरोमा राखिएको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए।
भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको छ।
पछिल्ला केही महिनाको तथ्यांक हेर्ने हो भने भिजिट भिसामा विदेश जाने क्रम लगातार बढेको देखिन्छ। यो वर्ष वैशाखयता मात्रै पाँच हजार भन्दा बढीलाई फर्काएको ब्युरोले जनाएको छ।
भिजिट भिसामा जानेहरूको मुख्य गन्तव्य खाडीमा युएई, ओमान, कतार, कुवेत र बहराइन हुन्छन्। युरोपेली देशमा सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हुन्छन् भने अमेरिका जाने भनेर अजरबैजान, अफ्रिकी मुलुकहरू र दक्षिण अमेरिकी मुलुक पुग्ने गरेको पनि ब्युरोले जनाएको छ। म्यानमार, लाओस, कम्बोडिया र थाइल्यान्ड जानेहरू पनि प्रशस्तै छन्।
एसएसपी श्रेष्ठले बेचबिखन, तस्करी तथा विभिन्न उद्देश्यले भिजिट भिसाको आवरणमा युवाहरू ओसारपसार भइरहेको बताए।
‘हामीले अनुसन्धान गर्दा भारतका वेश्यालय लैजानदेखि गैरकानुनी रूपमा अंग झिक्न र जबरजस्ती काममा लगाउन पनि यसरी लैजाने गरेको भेटिएको छ,’ उनले भने।पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन्।
प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ। यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ। जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ। त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो ।
मावन बेचबिखन तथा ओसारपसारका गिरोहमा धेरैजसो नजिककै आफन्त वा चिनजानका व्यक्ति हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसले पनि पीडितहरू उजुरी गर्न हिच्किचाउने उनले बताए।
अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके हस्त गौतमलाई र थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गर्ने चिनियाँ नागरिक लियाङ जु लाई पक्राउ गर्न मानव बेचबिखन अनुसन्धान व्यूरो सफल रहेको छ ।


