काठमाडौं। दाङमा ट्राफिक सप्ताह सुरु भएको छ । बुधवार एक समारोहकाबीच ट्राफिक सप्ताह अभियानको उट्घाटन गरिएको हो ।
बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह सुरु गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण मल्लले बताए । सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको पनि प्रहरी निरीक्षक मल्लले बताए ।

ट्राफिक सप्ताह अन्तर्गत जिल्लामा सातदिनसम्म ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने पनि मल्लले बताए । मल्लका अनुसार अभियानको सातदिनमा स्कुल र कलेजहरुमा ट्राफिक नियम सम्बन्धी सचेतना, दुर्घटना न्युनिकरणसम्बधी सरोकारवालाहरुसँग अन्तरक्रिया, ट्राफिक नियम सम्बन्धी होर्डिगं बोर्ड, सरसफाई लगायतका कार्यक्रमहरुलाई विषेश अभियानका रुपमा सञ्चालन गरिनेछ ।

त्यस्तै ट्राफिक सचेतना सम्बन्धी प्रचार पम्प्लेट वितरण, चालक परिचालक प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने र ग्रामीण भेगमा समेत सचेतनाका कार्यक्रम गरिने ट्राफिक प्रहरी प्रमुख मल्लले बताए । उनले सरोकारवालाहरुसँग समन्वय गरेर बजारका सडकमा जेब्रा सरर्किगं समेत निर्माण गरिने बताए ।
नजिकदै गरेको चाडबाडमा हुन सक्ने दुर्घटनालाई लक्षित गरेर ट्राफिक सप्ताह सञ्चालन गरिएको उनले सुनाए ।








