२२ असोज , काठमाडौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायत सामान नल्याउन र नपठाउन आग्रह गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै यस्ता सामान एक्सरे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको जनाएको छ । कार्यालयकाअनुसार यस्ता सामानहरु धेरै आउन थालेपछि जाँचपासका क्रममा खोलेर, फुटाएर ‘चेक’ गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सोही कारण कार्यालयले विदेशबाट यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन कार्यालयले आग्रह गरेको हो ।
‘विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर (ग्राइन्डर), पानी तान्ने मेसिन पठाउने गरेको पाइएको छ ।
यस्ता सामानहरू एक्सरे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ कार्यालयको सूचनामा उल्लेख छ ।
‘यसबाट सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । तसर्थ, विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरू नपठाउनुहुन र नल्याउनुहुन यस कार्यालयले सम्पूर्णमा सादर अनुरोध गर्दछ ।’





