६ मंसिर , काठमाडौ । राम बनवास जानू परेको कैकेइको कारणले हो । भरत र लक्ष्मणको धेरै अनुरोध पनि रामले अस्वीकारे ।
उता एउटै कूलका रावण र विभिषणमा पनि धार्मिक आस्थाको कारणले बिछोड भयो । कंसलाई आफ्नै भानीजले पनि माफी दिन सकेनन । कौरव र पान्डवको झिनो द्वन्द्वले महाभारतको कथा बन्यो ।
तसर्थ, दुश्मनले गरेको आक्रमण भन्दा पनि आफन्तले दिएको पीडाबोध र त्यसको मूल्य झन दर्दनाक र आततायी हुन्छ ! अझ पीडाबोध त त्यतिखेर हुन्छ, जतिखेर न्यायको ढोका पीडितको पक्षमा खुल्दैन !
सन्दर्भ केही राजनेता र सामाजिक अभियन्ता भन्नेहरुको चरित्रबारे ! प्रजातन्त्र र गणतन्त्र आएपछि देश विकास हुन्छ । जनताका दैनिक आवश्यकताका कुराहरु परिपूर्ति हुन्छन । मूख्य कुरा प्रत्येक नागरिकहरुलाई खाना, नाना र छानाको बन्दोबस्त हुन्छ ।
देश स्वीट्जरल्यान्ड् बनाउने हो । कुनै पनि नागरिकहरुले अकालमा मृत्युबरण गर्न पर्दैन । आदि इत्यादि कुराहरुको आश्वासनका पोकाहरु बाँड्ने मुखियाहरु अहिले भान्छा चलाइ राखेका छन तर अहिले दुर्गा प्रसाईहरुजस्ताबाट गणतन्त्र टिक्न सकेन भनेर व्यापक आन्दोलनको तयारी गरिएको छ जुन उनको बिगत र बैंकको ऋणको परिदृश्यले पनि चरित्रबोध गर्दछ ।
उता प्रमूख प्रतिपक्ष दल पनि सुशासनको माग गरी प्रदर्शनमा उत्रिन लागेको छ । तसर्थ देशको खातिर बोल्नु र आन्दोलन गर्नुभन्दा पनि आफ्नै स्वार्थको भूमरीमा जकडिएका कतिपय बिगतका आन्दोलनहरुको औचित्यताप्रति हाल आएर शंका गर्नुपर्ने प्रशस्त ठाउँ देखिन्छ ।
किनकी, घर जलाएर खरानी बेच्नेहरु, अर्काको मन जलाएर प्रतिष्ठा कमाउनेहरु, तन जलाएर धन कमाउनेहरु , सुनको भन्दा नुनको महत्व नदेख्नेहरु र मौसमी खडेरीका केही राजनीतिज्ञ र सामाजिक अभियन्ताहरु उस्तै उस्तै हुन ! किनकी, जुन नेताले जनता र समयको माग बुझ्दैनन ती नेताहरुको राजनीतिक जीवन पनि क्षणिक नै हुने रहेछ ।
अहिलेको यो भद्रगोल राजनीतिक अवस्थाको सन्देश पनि यहि नै हो । -खिमराज गिरी