१४ मंसिर , काठमाडौ । गत कात्तिक १७ गते बिहान ६ बजे गुल्मीको शान्तिपुर बजार नजिकैको हुग्दी खोलाको किनारामा नग्न र डुवेको अवस्थामा एउटा शव फेला पर्यो । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको थियो ।
लगत्तै स्थानीय प्रहरी र जिप्रका गुल्मीको टोली घटनास्थलमा पुग्यो । पहिचान गर्ने क्रममा उक्त शव चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिका मनिषा रुचालको रहेको पाइयो ।
त्यसपछि प्रहरी बालिका रुचालको हत्या गर्ने व्यक्तिको खोजीमा परिचालन भयो । अनुसन्धान गर्ने क्रममा प्रहरीले बाँके खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँमाथि निगरानी बढायो ।
सोही दिनको दिउँसो खाँलाई प्रहरीले शान्तिपुरबाट पक्राउ गर्न सफल भयो । सोधपुछको क्रममा आरोपित खाँले घटना भएको स्वीकार गरे । बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिए ।
खोलामा बालिकाको दर्दनाक अवस्थामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध र प्रर्दशनसमेत गर्न भ्याए । तर, प्रहरीले पनि छिट्टै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भयो । प्रदर्शन मत्थर भयो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेर शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन् ।
आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिकको बिहान ११ बजे खेतलालाई सुर्ती किन्न बजार गएपछि फर्किनन् । पक्राउ परेका खाँ स्थानीय एक मस्जिद मदरसा गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक बालिका रुचाल खेतमा खेतालालाई सुर्ती पुर्याउने जाने क्रममा कात्तिक १६ गते शिक्षक खाँले बालिकालाई फकाई मस्जिदभित्र लगेको बताइएको छ । भित्र लगेपछि उनलाई बलात्कार गरी हत्या गरेर सोही राति नजिकैको हुग्दीखोलामा फालेको पक्राउ परेका खाँले प्रहरीसमक्ष बयान दिएको नायब उपरीक्षक पाण्डे बताउँछन् ।
१६ गतेबाट हराइरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
घटना शंकास्पद देखिएपछि प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म अध्ययन एवं अनुसन्धान गरी खाँलाई पक्राउ गरेको हो । खाँलाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत गुल्मीले सोमबार खाँलाई पुर्पक्षको लागि जिल्ला कारागार गुल्मी चलान गरेको प्रमुख पाण्डेले जानकारी दिए ।






