२२ मंसिर , काठमाडौ । नीजि क्षेत्रको सहकार्यमा ३ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको ठेक्का रद्द गरिएको छ। भरतपुर महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै उक्त प्लाजा निर्माणको जिम्मा पाएको आर्या विल्डर्स एण्ड इन्जिनियरिङसँगको ठेक्का रद्द गरेको हो।
कम्पनीले भरतपुर महानगरपालिकासँग २०७८ साउनमा ठेक्का सम्झौता गरेको थियो। तर, ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि काम सुरु नगरेपछि महानगरले ठेक्का नै रद्द गरेको हो।
सम्झौता अनुसार सार्वजनिक निजी साझेदारी ९पिपिपि० मोडल अन्तर्गत तीन वर्षमा प्लाजा निर्माण गर्ने योजना थियो। तर, अहिलेसम्म पनि ठेक्का पाएको कम्पनीले काम सुरु नगरेपछि बिहीबार बसेको कार्यपालिको बैठकले सम्झौता तोड्ने निर्णय हो।
काम सुरु नगरेपछि महानगरपालिकाले निर्माण कम्पनीलाई एक महिना अघि फाइनासियल क्लोजर, वातावरण मूल्यांकन र वर्क सेड्युल पेस गर्ने गरि मंसिर २० गतेसम्मको म्याद दिएको थियो। तर, कम्पनीले समयमै ती कागजपत्र पेस नगरेपछि ठेक्का रद्द गरिएको महानगरपालिकाले जनाएको छ।
ठेक्का रद्द भएसँगै निर्माण कम्पनीलाई महानगरपालिकाले कारबाही समेत गरेको छ। धरौटी रकम र मोबिलाजेसन रकम गरि लगभग डेढ करोड रुपैयाँ जफत हुने महानगरपालिकाले जनाएको छ।
कम्पनीलाई तीन वर्षमा निर्माण सम्पन्न गर्ने र २७ वर्ष व्यवसाय सञ्चालन गर्न दिने गरि ३० वर्षका लागि सम्झौता गरिएको थियो। त्यसपछि सो सम्पत्ति महानगरपालिकाको स्वामित्वमा आउने थियो। ३० वर्षमा निर्माण कम्पनीले करिब ८५ करोड राजश्व दिने सम्झौता भएको थियो।
अब भने प्लाजाको निर्माण र संचालन नयाँ प्रक्रियाबाट सुरु हुने भएको छ।




