Comments Add Comment

अवैध सुन राष्ट्र बैंक लगियो, बोक्ने ट्याक्सी विभाग परिसरमा

४ साउन , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध सुन बरामद गरेको थियो ।

सुन बरामद भएपछि विभागले सुन र चालकसहित ट्याक्सीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । बुधबार रातभरी स्कुटरको ‘ब्रेक सु’ मा लुकाइएको सुन निकालेर बिहान विभागले जोख्नका लागि राष्ट्र बैंक पठाएको छ ।

राष्ट्र बैंकमा जोखिएपछि सुनको आधिकारिक परिमाण निश्चित हुने विभागका अधिकारीहरुको भनाइ छ । यद्यपि राजश्वका अधिकारीहरुले सुन करिब एक क्विन्टल भएको बताएका छन् ।

सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ । जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

कार्गोका रुपमा आएको उक्त सुन भन्सार पास भएर बाहिरिइसकेको अवस्थामा राजश्वको टोलीले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment