काठमाडौं महानगरले जडान गर्‍यो धरहरा भूमिगत पार्किङमा आगो निभाउने यन्त्र -
Comments Add Comment

काठमाडौं महानगरले जडान गर्‍यो धरहरा भूमिगत पार्किङमा आगो निभाउने यन्त्र

२२ माघ, काठमाडौ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ ।

निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ । काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो । तर भूमिगत पार्किङमा मानवीय क्षतिको जोखिम लगायतको सुरक्षाको प्रश्न उठेपछि महानगरले आगो निभाउने उपकरणहरू जडान गरेको हो ।

९ माघदेखि न्युरोडमा पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो ।

तर न्युरोडका व्यवसायी आन्दोलित भएपछि महानगरले १४ माघदेखि निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा पार्किङ खुलाएको थियो ।

पार्किङ स्थलमा बत्ती र धुलोको समस्या छ । जसका कारण धरहरामा पार्किङ गर्न पुगेका सवारी धनीहरूले पार्किङ स्थलमा बत्तीको व्यवस्था तत्काल गर्न र धुलो उड्ने समस्या समाधान गर्न महानगरसँग अनुरोध गरेका छन् ।

‘हामीले अग्नि नियन्त्रण उपकरण जडान मात्रै नभएर धुलोको समस्या समाधान गर्न सरसफाइ कर्मचारी मार्फत काम पनि गरिरहेका छौं । पहिलो तल्लामा भेन्टिलेसन पनि चालु छ । ५ जना नगर प्रहरी सुरक्षाका लागि खटिएका छन्,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment