समय मलाई पल पलमा खोजिरहन्छ
दिनमा होस वा रातमा घोचिँरहन्छ
मेरा हरेक यादहरूमा घोलिरहन्छ
अनि मेरा यादहरू गोधुलीमा निलिरहन्छ
म यन्त्रवत कथाको समय भोगिरहेछु।।
समयसगै बिभेदजन्य पुस्ताहरू दौडिरहेछन
मानौ पुस्ताहरूको लागि दौड हो समय
मेरो समय दौडमा मलाई हरपल गिजोल्छ
कहिले कस्तो कथामा कहिले कस्तो पलमा
म यन्त्रवत यावत दौडमा समय भोगिरहेछु।।
समयका हरेक सम्बन्धहरूमा साक्षीहरू
कोकोहोलो गर्दै बकपत्रमा कुदिरहेछन्
स्वमंबाट शुन्यताको बेअर्थका कोणमा
जीवित आकांक्षाहरू संकुचित भएका छन्
तथापि म सामुहिकतामा समय भोगिरहेछु।।
आज म मेरो निम्ति मेरो समय खोजिरहेछु
समय मसँग गतिको परिभाषा खोजिरहन्छ
पल पलको समयमा म अर्थ खोजिरहेछु
अनेकन बिकारहरूमा आकार खोजिरहेछु
हरेक समयको गतिले मलाई दुखाईरहन्छ।।







