काठमाडौँ । नेपाल पुलिस स्कुल साँगाले आयोजना गरेको २९ औँ आइजीपी ट्रफी फुटबल प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ ।

अन्तर माध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइन खेलमा सैनिक आवासीय महाविद्यालयले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा ३–० गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा रोकिएपछि खेल टाइबेकरमा गएको थियो । ट्रफी विजेता सैनिक आवासीय महाविद्यालयलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरले पुरस्कृत गरेका छन् । सैनिक स्कुलले ट्रफी र ५० हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टिम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टिम तृतीय भएका छन् । द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
नेपाल प्रहरीका स्कूलहरूले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमार्फत प्रतिभाको पहिचान गर्दै त्यसलाई फलाउने र फुलाउने वातावरणलाई प्राथमिकता दिँदै आएको उनले उल्लेख गरे ।
विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकोले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने उनको भनाई छ ।
विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई उच्च राख्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यक पूरा गर्न दत्तचित भएर काम गर्नुपर्नेमा उनको जोड छ ।
मंसिर २० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बी’ टिम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टिम सहभागी थिए ।







