
काठमाडौं: ललितपुर प्रहरीले चोरेर बैंकमा अकुत सम्पत्ति जम्मा गर्ने २ जनालाई पक्राउ गरेर बिहीवार सार्वजनिक गरेको छ ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीकाअनुसार लगभग १६ लाख चोरी भएको ‘केस’मा पक्राउ परेका २ जनाको अनुसन्धान गर्दा बैंक खातामा ३४ लाख ७७ हजार ६३० रुपैयाँ फेला परेको हो ।
प्रहरीले उनीहरूलाई कार्तिक २७ गते दिउँसो ललितपुर महानरपालिका– १५ दीपावली मार्गका चोरी गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपलिका २ कुलेखानीका ३७ वर्षीय रामकृष्ण लोप्चन र सोही ठाउँमा वीरबहादुर वाइबा छन् ।
प्रहरीले उनीहरूको साथबाट ४० हजार रुपैयाँ नगद र गहनासहित ४ लाख २० हजार बराबरको सुनका गहना बरामद गरेको थियो । उनीहरूलाई अनुसन्धान गर्ने क्रममा बैंकमा हेर्दा अस्वभाविक रकम देखिएको प्रहरीको भनाइ छ ।
एसपी कार्कीका अनुसार उनीहरूलाई बयान गराउँदा चोरी गरेर जम्मा गरेको स्वीकारेका छन् । ‘चोरीमा संग्लग्नहरूको बैंक खाता हेर्ने चलन खासै थिएन । तर करिब १६ लाख रुपैयाँ बरामद भएपछि के रहेछ भनेर बैंक खाताको अनुसन्धान गर्दा ठूलो रकम भेटिएको हो,’ एसपी कार्कीले भने ।