नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाण्डौको सभाहलमा “शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा काठमाण्डौ महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको विशिष्ट आतिथ्यता तथा शिक्षा क्षेत्रका सम्बन्धित निकायका बिशेषज्ञ प्रतिनिधिहरु र नेपाल प्रहरी श्रीमती संघका उपाध्यक्षहरु, सल्लाहकारहरु सहभागिता रहेको थियो ।
संघका कार्यक्रम सचिव श्रीमती संध्या जोशीले उपस्थित प्रमूख अतिथि, अतिथिज्यूहरू लगायत सम्पुर्ण सहभागी विद्यालय तथा विद्यार्थी भाइबहिनीहरूलाई स्वागत गर्दै आफ्नो मन्तब्य राख्नु भएको र कार्यक्रमको उद्देश्य तथा औचित्यबारे संघका कानूनी सल्लाहकार अधिवक्ता राधिका खतिवडाले प्रकाश पार्नुभएको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको साथै प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलज्यूद्वारा आफ्नो मन्तब्यका क्रममा विद्यार्थी भाइबहिनीहरूलाइ उज्जवल भविष्यको कामना गर्दै शैक्षिक सफलताको समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त बक्तृत्वकला प्रतियोगिताको निर्णायकको भूमिकामा साहित्यकारज्यूहरु मोमिला जोशी, महेश पौडेल र रामगोपाल आशुतोष रहनु भएको र उक्त कार्यक्रम नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकका शिक्षक साहित्यकार हरिहर तिमल्सिनाले संचालन गर्नु भएको थियो ।
सो अवसरमा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो मन्तब्यको क्रममा शिक्षा नै मानव जिवनको अमुल्य धन हो भन्ने भनाईलाई हृदयगमन गरी बालबालिकाहरुको अन्तरनिहीत क्षमताको उजागर गर्ने उदेश्यले आजको यस वक्तित्वकला कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि विद्यार्थी भाइबहिनीहरुभित्र रहेको विभिन्न किसिमको बाल प्रतिभालाई उजागर गर्ने किसिमका विविध कार्यक्रमहरु समेत आयोजना गर्ने प्रतिबद्दता ब्यक्त गर्नुहुँदै उल्लेखित उत्कृष्ट छात्र छात्राहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।