४ फागुन , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रम मात्र होइन, पार्टीका आन्तरिक बैठकहरुमा सरकारको खरो आलोचना गर्छन् । सरकारको कामकारबाहीलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाउँछन् ।

तर संसदमा हुने प्रश्नउत्तरमा भने उनले प्रधानमन्त्री प्रचण्डलाई कुनै प्रश्न नसोध्ने भएका छन् । प्रतिनिधिसभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था छ ।

एकै पटक सबै सांसदसँग प्रश्न माग गर्दा व्यवस्थापकीय अप्ठ्यारो हुने भएकाले संसद सचिवालयले संसदहरुको क्रमसंख्याको आधारमा एक पटकमा बढीमा १५ जना सांसदको प्रश्न लिने गरेको छ ।

साथै सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न अग्रिम रुपमा संसद सचिवालयलाई टिपाउनुपर्ने व्यवस्था छ । संसद सचिवालयका अनुसार आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी आइतबार हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउन क्रम संख्या ३४ देखि ४८ सम्मका सांसदसँग प्रश्न माग गरिएको थियो ।

यो क्रम संख्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम पनि समावेश छ । प्रश्नउत्तरमा भाग लिन पाउने सांसदहरुलाई प्रश्न टिपाउन बुधबारसम्म समय तोकिएको थियो ।

संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार १३ वटा प्रश्न प्राप्त भएको छ, जुन संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइसकेको छ । तर एमाले अध्यक्ष ओलीको तर्फबाट कुनै प्रश्न प्राप्त नभएको प्रवक्ता गिरीले जानकारी दिए ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका ओलीले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न किन नदिएको भन्ने प्रश्नमा एमालेका सचेतक महेश बर्तौलाले पार्टीका तर्फबाट अन्य सदस्यहरुले प्रश्न सोध्ने बताए । उनी भन्छन्, ‘सामान्यतया प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा पूर्वप्रधानमन्त्री सहभागी हुने अभ्यास छैन ।’