काठमाडौं: कपिलवस्तु प्रहरीले लागुऔषध चरेससहित कृष्णनगर नाकाबाट पाँचजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५६० ग्राम चरेससहित पाँचजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा तीन महिला र दुई पुरुष रहेका छन्। रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा कृष्णनगर बजार क्षेत्रमा चोकजाँचका क्रममा आइतबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

खनियाबास– ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ वर्षीय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ वर्षीय साङ जोङ तामाङको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख– ४ सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे– २ रुकुम पूर्बका ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम चरेस फेला परेको बताइएको छ।

उनीहरुले कम्मरमा कपडाको पेटि बनाई बाँधेर लुकाइछिपाई खेको अबस्थामा प्रहरीले सो परिमाणमा लागूऔषध बरामद गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ।

पक्राउ पर्ने धादिङकी सेती तामाङ लागुऔषधको पेशेवर भरिया रहेको प्रहरीको दाबी छ। उनी यसअघि धादिङ र कृष्णनगरबाट लागूऔषधसहित पक्राउ परेर मुद्दा खेपिसकेकी व्यक्ति हुन्। उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो। नियन्त्रणमा लिइएका पाँचैजना उपर थप अनुसन्धान भैरहेको कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए।