काठमाडौं: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको कार्यालय भवनहरूको समुद्घाटन भएको छ ।
आज आयोजित २ चरणको समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा पहिलो चरण अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडा र दोस्रो चरणमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाको कार्यालय भवनहरूको समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडा, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी., राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौडाका अनुसन्धान निर्देशक राम प्रसाद दास, नेपाली सेनाको महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेल, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी संगठन बागमती प्रदेशका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै प्रमुख अतिथिबाट भवन निर्माणमा सहयोग पुर्याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।