काठमाडौँ । सर्लाही प्रहरीले पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका थिए ।
अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।
एसपी ज्ञवालीले अज्ञात व्यक्तिले बालक अपहरण गरेको सुचना आएलगत्तै तत्काल सबै मातहतका प्रहरीहरुलाई ‘हाईअर्लट’मा राखेर खोजतलास गर्दा सकुशल बालकको उद्दार गर्न र बच्चा चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको बताए ।
बिहीबार बिहान लालवनी बस्ने धिरेन्द्र रामको वर्ष ४ को छोरालाई अज्ञात व्यक्तिले अपहरण गरी लगेको थियो । प्रहरी टोलीले अपहरित भनिएका नावालक बच्चालाई खोजी गर्ने क्रममा अन्सारीले ती बालकको हात समातेर लगिरहेको अवस्थामा फेला पारेको हो ।
बालक अपहरण परेको सूचना प्रहरीलाई ७ बर्षकी बालिकाले दिएकी थिइन् । लगत्तै व्यापक मात्रामा प्रहरी परिचालन भएको थियो ।
प्रहरीले उद्धार गरेको नावालकलाई बुवा आमाको जिम्मा लगाइएको छ । आरोपीविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।