काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । फैसलापछि फरार रहेका ८० जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फागुन १ गतेयता कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ८० जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले बताए ।

पक्राउ परेकाहरुबाट १९ वर्ष २ महिना २८ दिन कैद सजाय र ५७ लाख ६७ हजार ८९५ जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराइएको एसपी मोहन थापाले जानकारी दिए । पक्राउ पर्नेमा सबै भन्दा धेरै चेक अनादार मुद्दामा ४१ जना र अभद्र व्यवहार मुद्दामा १२ जना छन् ।

पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको उनले जानकारी दिए । फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको एसपी मोहन थापाले बताए । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ ।

हाल फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई दैनिकजसो पक्राउ गरिरहेको उनले जानकारी दिए । उनले प्रहरीले प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान र जरिवानाका लागि कारागार चलान गर्ने गरेको बताए ।

कास्की जिल्लामा जबर्जस्ती करणी उद्योग, जुवासम्बन्धी कसुर, ठगी, बालयौन दुरुपयोग, विदेशी विनिमय, सम्बन्धविच्छेद, लेनदेन, बहुविवाह, आपराधिक उपद्रव, हिसाब यकिन गरी पाउ, नाता कायम, डाँका, गाली बेइज्जतीलगायतका मुद्दाका प्रतिवादी पक्राउ परिरहेको उनले बताए । “कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई धमाधम पक्राउ गरिरहेका छौँ”, उनले भने, “अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाउँछौँ ।”