वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन सहित चार जनालाई पक्राउ -
Comments Add Comment

वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन सहित चार जनालाई पक्राउ

वीरगन्ज– वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्जका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ निवासी २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवक पनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– ५ का २४ बर्षिया सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिया विजय साह रहेका छन्।

उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै