काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रमुखको नेतृत्व सम्हालेको एक वर्ष पुगेको छ । प्रहरीका ३० औं प्रहरी महानिरीक्षक कुँवरले गत बर्ष चैत ११ देखि ८० हजार प्रहरी कर्मचारीहरुको नेतृत्व सम्हालेका हुन् ।
आईजीपी बसन्त कुँवरले कार्यभार सम्हालेयता मुलुकको सुरक्षा अवस्थामा राम्रो परिवर्तन भएको देखिन्छ । धेरै बर्षपछि प्रहरीको मनोवल उच्च राख्न सफल आईजीपी कुँवर विगतदेखि नै अपराधीका लागि सिंघम स्टाइलमा काम गर्ने अफिसरका रुपमा चिनिन्छ ।
नेपाल प्रहरीमा बेग्लै पहिचान बनाएका महानिरीक्षक बसन्त कुँवर अहिले चर्चाको शिखरमा छन् । कुँवरले सुरु गरेको अभियानले गति लिंदा गुण्डा अपराधीको भागाभाग हुने अवस्था निर्माण भएको छ । आम नागरिकमा अमनचयन ल्याउन आफू दिनरात खटिनेसमेत कुँवरले बताए । गर्बिलो इतिहास बोकेको प्रहरी सङ्गठनमाथि मडारिएको कालो बादल हटाउन सक्षम रहेको उनले बताए । ‘अझै धेरै कुरा गर्न बाँकी छ’, कुँवरले भने ।
पारदर्शिता र संगठनको उच्च मनोबल नै आफ्नो ठूलो सम्पति रहेको उनी दावी गर्छन् । राम्रो गर्नेलाई पुरस्कृत गर्ने र गल्ती गर्नेलाई दण्ड दिने उनको कार्यशैली हो । पछिल्लो समयमा गरिएको बढुवा र सरुवाको सर्वत्र प्रशंसा हुँदै गर्दा संगठनमा आईजीपीको पकड मजबुद भएको Right Person in Right Place को अवधारणा लागू भएको तर्फसमेत आम प्रहरी कर्मचारीहरुले अनुभुत गरेको पाइन्छ ।
अब सरुवा बढुवामा कुनैपनि खाले आर्थिक लेनदेनको गुन्जायस् छैन – आईजीपी कुँवर भन्छन् । गलत गर्नेलाई आफूले छुट नदिनेमा उनी दृढ छन् । साथै राम्रो गर्नेलाई पुरष्कृत गर्न पनि उनी पछि हट्दैनन् । गलत गर्ने कमाण्डरलाई समेत कारबाही गरेको धेरै उदाहरण उनले दिए ।
सत्य सेवा सुरक्षणम्को टोपी शिरमा लगाएका आईजीपी कुँवर निस्वार्थ भावले संगठनको नेतृत्व गरिरहेको भान आम नागरिकमा परिसकेको छ । उनले आफ्नो बाँकी कार्यकालमा यो साखः जोगाउँदै प्रहरी सङ्गठनमा लागेको दाग पक्कै मेटाउने छन् ।
समग्रमा भन्दा जनधनको सुरक्षामा आफ्नो जीउ ज्यान नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी सदैव कार्य गर्न अभिप्रेरित गर्ने आईजीपीको कार्यशैली कै कारणले समग्र मुलुकभर अपराध नियन्त्रण र अनुसन्धानको कार्यमा सफलता हाँसिल हुँदै गएको तथ्यलाई सुरक्षा र बिकास सँग जोड्दै प्रहरीकै माध्यमबाट सम्पूर्ण जनताको होस्टेमा हैंसे नै आजको जरुरत रहेको छ ।