काठमाडौं: जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न अपराधमा सजय तोकिएका र विभिन्न आरोपमा अदालतमा मुद्दा दर्ता भई फरार रहेका प्रतिबादीहरु नियन्त्रणमा लिने क्रम तीब्र पारे सङै एकैदिनमा २३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
उदयपुर जिल्लाबाट खटिएको विशेष प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका उनीहरूलाई पक्राउ गरेको उदयपुर जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक अपराध मुद्दामा चार हजार ८०० जरिवाना तोकिएका त्रियुगा नगरपालिका १४ का औतार सिंह राई, सोही मुद्दामा चार हजार जरिवाना तोकिएकाहरू सोही ठाउँका युवराज राई, विवेक राई पक्राउ परेका हुन्।
त्यसैगरी वन मुद्दामा ७९७ जरिवाना भएका सोही ठाउँका छविलाल मगर, लुटपाट मुद्दामा १४१ जरिवाना पाएका सोही ठाउँका यादवबहादुर राई, गाली बेइज्जती मुद्दामा १२५ जरिवाना तोकिएका यादव राई, सोही मुद्दामा ५० रुपैयाँ जरिवाना भएका वडा नम्बर १५ का चन्द्रबहादुर पुरी रहेका छन्।
प्रहरीले गाली बैइज्जती मुद्दामा ५० जरिवाना भएका वडा नम्बर १५ का मोतिलाल पुरी, कृष्णा कुमारी पुरी, बालकुमारी पुरी, चित्रमाया पुरी, लुटपाट मुद्दामा ८७ रुपैयाँ जरिवाना भएका चन्द्रबहादुर पुरी, मोतिलाल पुरी, कृष्णाकुमारी पुरी, बालकुमारी पुरी, चित्रमाया पुरी पक्राउ परेको एसपी थापाले बताए।
त्यसैगरी जालसाजी मुद्दामा ६२ रुपैयाँ जरिवाना तोकिएका पेशलकुमार मगर, चूडामणि मगर, पारस मगर, शान्ता मगर, नरमाया मगर, टेकबहादुर मगर र बहुविवाह मुद्दामा ५० रुपैयाँ जरिवाना तोकिएका रेणुका मगर रहेको उनले बताए।


