काठमाडौं । प्युठानको स्वर्गद्वारी जीप दुर्घटनाको सात वर्षपछि त्यसका चालक पक्राउ परेका छन् । प्रहरीले चालक ललितपुरका सरोज घलेलाई पक्राउ गरेको हो ।

२७ वर्षीय घलेलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं डीएसपी ईश्वर थापाले बताएका छन् ।

२०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका वडा-३ रुमाले भन्ने स्थानमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको थियो ।

घले भने सवारी ज्यान मुद्दामा फरार रहेका थिए । उनको खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट पक्राउ गर्न सफल भएको हो ।

४३ वर्षीय दिनेशध्वज, उनकी श्रीमती प्रभा बस्नेत, उनीहरूका छोरीद्वय २१ वर्षीया दीक्षा र नौ वर्षीया दीया, २३ वर्षीया सृष्टि बञ्जाडे खत्री र ४६ वर्षीया अम्बिका गजुरेल गरी दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो । सुशीला जिसी र सुनीता श्रेष्ठ घाइते भएका थिए । उपचारका क्रममा बुटवलस्थित अस्पतालमा ५३ वर्षीया सुनीताको मृत्यु भयो ।